गृह प्रवक्ताको जवाफ - चहलपहल थेग्न नसकेकोबारे मलाईमात्रै किन ? सिडिओ र मेट्रोको डिआईजीलाई पनि सोध्नुस् न

 जेठ २०, २०७७ मंगलबार १९:११:११ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - यसअघि तोकिएको लकडाउनको समयको आज मङ्गलबार अन्तिम दिन । कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले सरकारले जेठ ३२ गतेसम्मको लागि लकडाउन थप गरेको छ । लकडाउनको समय थप भएपनि काठमाण्डौमा आज मङ्गलबार गाडी निर्बाध रुपमा चलेको देखियो । सुरक्षा संयन्त्रबाट पनि खासै रोकटोक भएको पाइएन । मानिसहरुको चहल पहल पनि बढेको छ । यसै विषयमा टेकमान शाक्यले गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मासँग कुराकानी गर्नुभएको छ ।

काठमाण्डौमा लकडाउन खोलेजस्तै पाराले गाडीहरु निर्बाध चल्न थाले । मान्छेहरुको भिड पनि बढ्न थाल्यो । किन यस्तो भएको ? नयाँ निर्णय आएको हो र ?

पहिले लकडाउन तोकिएका अन्तिम दिनमा पनि यस्तै भएको थियो । जेठ ४ गतेको अवस्था पनि हामीले अनुभव गरेकै हो । सरकारले मोडालिटी परिवर्तन गर्ने भन्ने कुरा पनि पत्रकार मित्रहरुले लेख्नुभयो । केही खुकुलो हुने भन्ने हल्लाले यसो भएको हुन सक्छ । सरकारले केही निर्णय गर्यो भने हामी त्यही अनुसारले अघि बढ्छौँ । गृह मन्त्रालयले सरकारले गरेको निर्णयको कार्यान्वयन गर्ने हो । आफैँले निर्णय गर्ने होइन । आजको सन्दर्भमा मैले केही पनि बोलिनँ । केही निर्णय आयो भने भोलिदेखि त्यही निर्णयअनुसार हामी अगाडि बढ्छौँ ।

तपाईं भन्नुहुन्छ सरकारले अर्को निर्णय गरेको छैन । तर गाडी आवत जावत  निर्बाध रुपमा बढेको छ । रोकटोक पनि ककै देखिएन । किन ?

मन्त्रालयले केही भनेको छैन र अहिलेसम्म कुनै निर्णय गरेको पनि छैन । सरकारले पनि केही नयाँ निर्णय गरेको छैन । त्यो त प्रमुख जिल्ला अधिकारीलाई सोध्नुस् । यस विषयमा गृह मन्त्रालयले छुट्टै निर्णय गरेको छैन । काठमाण्डौ उपत्यकाकै कुरा गर्नुहुन्छ भने प्रमुख जिल्ला अधिकारी र महानगरको डिआईजीलाई सोध्नुभए भैहाल्यो नि, मैले जवाफ दिनुभन्दा ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी र महानगरको डिआईजीतिर  देखाएर पन्छिन पाउनुहुन्छ र ? अरुलाई सोध्नुस् भनेर हुन्छ र ? 

तपाईंले गम्भीर हुनुस् भन्नुभयो । मैले गम्भीर रुपमा लिइसकेँ । प्रवक्ताले निर्णय मात्रै सुनाउने हो । अरु बोल्ने होइन । निर्णय नै केही गरेको छैन भनेपछि मैले सुख पाउनुपर्यो नि ? गृह मन्त्रालयले थप निर्णय गरेकै छैन । अस्तिको निर्णय जे हो त्यही हो भनिरहेको छु मैले । त्यहाँभन्दा अरु के नै बोल्न सक्छु र म । 

सरकारले थप निर्णय गरेको छैन भनेर तपाईंले नै भन्नुभयो । अनि पहिलेको निर्णयलाई कार्यान्वयन गराउने जिम्मेवारी तपाईंहरुको होइन ? 

भोलिसम्म पर्खनुस् न भन्दैछु मैले । क्याबिनेटले निर्णय गर्ला । उच्चस्तरीय संयन्त्र समिति र सीसीएमसीलगायत संयन्त्र छन् । ममात्रै सरकार त होइन होला । तपाईं आफैं भन्नुस् न, म के गरुँ ? गृहकार्य गरिरहेकै छौँ । केही समय पर्खनुस् न । सरकारले गरेको निर्णयमा मोडालिटी परिवर्तन गर्ने भन्ने पनि छ । नयाँ निर्णय आएपछि म बोलौँला ।

मोडालिटीको कुरा गर्नुभयो । कस्तो मोडालिटीमा छलफल हुँदैछ ?

क्याबिनेटको निर्णयको व्याख्या मैले गर्ने होइन । प्रधानमन्त्री कार्यालयमा सोध्नुहोला ।

गृह मन्त्रालयले पनि केही गृहकार्य गर्नुपर्ला नि ? भोलिको तयारी आजदेखि गर्नुपर्दैन ?

तपाईंले भन्नुभयो कि चहलपहल बढ्यो भनेर । त्यस विषयमा हामीले छलफल गरिरहेकै छौँ नि बा...बा... । म पनि मान्छे हो नि ? मैले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ नि, हैन र ? हामीले आफ्नो काम गरिरहेकै छौँ । नागरिकले पनि आफ्नो कर्तव्य पुरा गर्नुपर्यो ।

आफ्नो कर्तव्य पूरा गरिरहेकै छौँ भन्नुहुन्छ । गाडी रोकटोक गर्ने, भिडभाड हुन नदिने, मान्छेहरु आवत जावत गर्न नदिने तपाईंहरुको जिम्मेवारी होइन ?

रोकटोकका लागि हाम्रा सुरक्षाकर्मी साथीहरु बसिरहेकै छन् । उनीहरुले आफ्नो काम गरिरहेकै छन् जस्तो लाग्छ । मोडालिटी परिवर्तन हुने भन्ने सल्लाह भएकै छ । अप्ठ्यारोमा परेका नागरिकलाई त्यसै समात्न त हुँदैन होला हामीले ? अति आवश्यक काम परेकाहरुलाई मात्रै छाडिएको हो ।

अप्ठ्यारोमा परेँ भनेर जसले भनेपनि निर्बाध छाडिदिने उसो भए ?

भन्दैछु त, आज अन्तिम दिन हो । भोलिदेखिको लागि सरकारको निर्णय के आउँछ त्यो पर्खेर बसौँ । त्यही नागरिकले हिजो अस्ति मानेको थिए भने आज किन मानेन भन्ने विषयमा पनि छलफल गर्दैछौँ ।

उसो भए सरकारले अर्को कुनै निर्णय गरेन भने भोलि पनि आजकै अवस्था सिर्जना हुने भो, हैन ? 

म फेरि पनि भन्दै छु, निर्णय पर्खनुस् । अर्को निर्णय गरेनछ भने भोलि फेरि मसँग कुरा गर्नुहोला । अहिले अन्तिम अवस्थामा आएर हाम्रो मात्रै गल्ती देख्ने काम नगर्नुस् । भोलिको कुरा म आजै बोल्दिनँ । भोलि म प्रवक्ता नरहन पनि सक्छु । भोलि जो प्रवक्ता हुन्छ उसैलाई सोध्नुहोला । यति भनेपछि त मैले सुख पाउँछु होला नि, हैन ? 

अन्तिम अपडेट: चैत १२, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया