स्याङ्जाकोे कालिका सामुदायिक अस्पताल कोरोना अस्पतालमा परिणत

 जेठ २१, २०७७ बुधबार १५:४७:४८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको मध्य भागमा रहेको कालिका सामुदायिक अस्पताललाई आइसोलेशनसहितको कोरोना अस्पतालमा परिणत गरिएको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि गण्डकी प्रदेशको सहयोगमा भीरकोटमा रहेको कालिका अस्पताललाई कोरोना अस्पतालमा परिणत गरिएको हो । 

सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको र जिल्ला अस्पतालमा ठाउँ नभएकाले विकल्पको रुपमा कालिका सामुदायिक अस्पताललाई कोरोना अस्पतालमा परिणत गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

डा. शर्माले कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर लैजाँदा नकारात्मक सन्देश जाने बताउँदै जिल्लाकै कोरोना अस्पतालमा राख्दा बिरामीका आफन्तहरुले पनि भेट्न सजिलो हुने बताउनुभयो । 

स्याङ्जामा रहेका ११ पालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पतालको पहलमा गण्डकी प्रदेशले कोरोना अस्पताल सञ्चालनमा ल्याएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । 

कालिका सामुदायिक अस्पताललाई पहिलो चरणमा ६० शय्याको कोरोना अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको छ । आवश्यक परेको खण्डमा शय्या थप्न सकिने जानकारी दिँदै कोरोना सङ्क्रमितलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सबै उपलब्ध हुने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

जिल्लाभित्र भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । गण्डकी प्रदेशको नाका राम्दीबाट मात्रै दैनिकजसो ४०/५० जना आउने गरेका छन् । भारतबाट आउनेहरुलाई किटको अभावमा आरडीटी परीक्षण गरिएको छैन । उनीहरु सबैको पालैपालो पीसीआर परीक्षण गर्न सुरु गरिएको छ ।

महामारीको रुपमा फैलिरहेको सङ्क्रमणलाई सबै मिलेर न्यूनीकरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । प्रजिअ क्षेत्रीले कोरोना न्यूनीकरण गर्न जिल्लामा रहेका सबै पालिकाहरुले सराहनीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले कोरोना सङ्क्रमण रोक्न सबै सचेत हुनुपर्ने बताउँदै सङ्क्रमणबाट बच्न दुरी कायम गर्नुपर्नेमा जोड दिनुभयो ।   

स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ जना पुगे पनि कोरोना अस्पताल हेलुमा चापाकोटका चार जना र बिरुवाका एक जना गरी पाँच जनालाई राखिएको छ, एक जनालाई पोखरा लगिएको छ भने अरु सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।  

अन्तिम अपडेट: चैत ७, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया