रुकुम : वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण, वडाध्यक्ष फरार

 जेठ २१, २०७७ बुधबार १०:२५:३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा एक वडा अध्यक्षको नेतृत्वमा मंगलबार बेलुका प्रहरी पोष्टमा आक्रमण भएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार बेलुका ९ बजे वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेका हो । 

आफ्नो नेतृत्वमा २०,२५ जना युवाहरु लिएर प्रहरी पोष्टमा आक्रमण गरेर उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जानकारी अनुसार अत्याधिक जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेका हुन् । पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ । 

प्रत्यक्षदर्शीका अनुसार उनीहरुले प्रहरीकोे हतियार खोसेर भाग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी हतियार फिर्ता लिएका हुन् ।

प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा आक्रमण हुँदा केही प्रहरी काम विशेषले बाहिर रहेको बताइएको छ । उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेका छन् । 

‘दिनभर क्वरेन्टीन व्यबस्थापनको कामबाट फर्किएर आउनेबित्तिकै खाना खान लागेको थिएँ,’ प्रहरी सहायक निरीक्षक धनबहादुर साउँदले भन्नुभयो, ‘एक्कासी आतंककारी शैलीमा हामीमाथि आक्रमण गरियो ।’

उहाँका अनुसार सुरुमै ड्युटीमा बसेको प्रहरीलाई अध्यक्षले लात्ती हानेका र उनका छोरा लगायतले हातमा चक्कु समातेको स्थानीयले देखेका पोष्ट इन्चार्जसमेत रहेका साउँदले भन्नुभयो ।

जानकारी अनुसार दादागिरी मच्चाउँदै आएका अध्यक्ष केसीलाई बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गरेको र जवाफमा अध्यक्ष केसीले ‘तँ हवल्दार चुप लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै झाेक्किएर गएका प्रहरीले जनाएको छ । 

त्यसैगरी उनले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छोडेको थियो । 

त्यही रिसको आवेगल अन्य युवाहरुलाई उक्साएर प्रहरी चौकिमा आक्रमण गरेको हुनसक्ने स्थानीयको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घटनास्थल पुग्न नपाउँदै उनी भागेको र अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ । 

यसअघि वडाध्यक्ष केसीले जिल्लाबाट गएको प्रहरीको ड्युटी टोलीका प्रमुखमाथि पनि आक्रमण गरेका थिए । सत्ता र पार्टीको पहुँचका भरमा उनी छुटेका थिए । 
वडाध्यक्ष केसी तत्कालीन माओवादी पार्टीबाट निर्वाचित भएका हुन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Bishnu

    June 3, 2020, 10:53 a.m.

    ड्युटीमा रहेका राष्ट्र सेवक माथि हमला गर्नु भनेको देश, संविधान र नेपाली नागरिकमाथि कै हमला हो भन्ने बुझिन्छ / राष्ट्र सेवक सुरक्षा बलको हौसला र आत्मसम्मान यस्ता घटनाले कमजोर बनाउँछ /, जसको असर देशको सुरक्षामा गम्भीर आघात पुग्छ / कुनै राजनीतिक दलको भेषमा यस्तो खालको अपराध गर्ने जो कोहीलाई पनि कडा कार्यवाही गर्न प्रशाशन र सरकारको कदम नदगमगाओस ...एक सामान्य नागरिकको आवाज /

  •  0 Reply

तपाईको प्रतिक्रिया