कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
पाल्पा - तानसेनको अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा एतिहासिक तामाको पाइप भेटिएको छ ।
पोखरीको मर्मत गर्ने क्रममा झन्डै २ सय १४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो । करिब एक मिटर लम्बाइ र १० इन्चको मोटाइ रहेको तामाको पाइप भेटिएको पोखरी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनायक महर्जनले बताउनुभयो ।
पोखरीको पिँधमा सरसफाइ गर्ने क्रममा तामाको पाइपबाट पानी निकासी भइरहेको देखेपछि कामदारले आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
पोखरी मर्मत तथा १ सय ८ धारा जडानका लागि सरसफाइ गर्ने क्रममा भेटिएको ऐतिहासिक तामाको पाइपलाई अमरनारायण युवा क्लबले सुरक्षित राखेको स्थानीयवासी हिमालदत्त श्रेष्ठले बताउनुभयो ।
पोखरीमा फेला परेको तामाको धातु पाल्पा तानसेनको ऐतिहासिक सङ्ग्रहालयमा राखिने भएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले पोखरीमा फेला परेको ऐतिहासिक वस्तु पाल्पा दरबार सङ्ग्रहालयमा राख्नेगरी हस्तान्तरण गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
तामाको केही भागमात्र निकाल्न सफल भएपछि ठूलो मात्रामा जमिनमुनि तामाको पाइप हुनुपर्ने स्थानीयवासीको भनाइ छ । पोखरीको पानी तानसेन मिसन सडक खण्डको नारायणस्थान सडक नजिकैको खोल्सामा निकालिएको छ । पोखरीको पर्खालमा रहेको तामाको पाइपमात्र कामदारले निकालेका हुन् ।
काजी अमरसिंह थापाले विसं १८६३ मा कलात्मक अमरनारायणको मन्दिर र ठूलो पोखरी निर्माण गरेका थिए । त्यही समयमा नै मन्दिर परिसरको पोखरीको पानी निकाल्न तामाको पाइप बनाई पानी निकालेको हुन सक्ने अनुमान स्थानीय बासिन्दाको छ ।