तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा पहिलो पटक सङ्क्रमण देखियाे, थपिएका २०१ जना कहाँका हुन् ?

 जेठ २१, २०७७ बुधबार १७:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा दुई सय एक जना काेराेना सङ्क्रमित थपिएका छन् । मङ्गलबार अपराह्नसम्म सङ्क्रमितकाे सङ्ख्या दुई हजार ९९ रहेकोमा आज थप दुई सय एक जना सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितकाे सङ्ख्या हुई हजार तीन सय पुगेको छ ।

आज थपिएकामध्ये विराटनगरमा गरिएको परीक्षणमा धनकुटाका एक जना, धरानमा गरिएको परीक्षणमा सप्तरीको तिरहुतका एक जना, ताप्लेजुङको शान्ति गाउँपालिकाका तीन जना, झापाको बुद्धशान्तिका एक जना, पाँचथर हिलेहाङका एक जना र सुनसरीको भोक्राहाका सात जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जकाे प्रयोगशालामा भएको परीक्षणमा पर्साको विन्ध्यवासिनी, कालिकामाई, सखुवा पर्सौनीका सात जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नौमुलेका एक जना र सल्यानको कुमाखका दुई जना गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मोरङ, झापा, सुनसरी र तेह्रथुमका पाँच जनाको रिपोर्ट पोजेटिभ आएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा कैलाली र डोटीका पाँच जना सङ्क्रमित थपिएका छन् । रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको मायादेवी र शुद्धोधनका ६७ जना, पाल्पाका २ जना र रुपन्देहीका २६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै जनकपुरमा गरीएको परीक्षणमा महोत्तरी मतिहानीका नाै जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जना सङ्क्रमित भेटिएका छन्, उनीहरु दैलेखको दुल्लू र नारायण नगरपालिकाका ६ जना र कालीकोटको पलाताका सात जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा आठ जनामा काेराेना पुष्टि भएको छ । दाङको बङ्गलाचुली र राजपुरका पाँच जना, प्युठान माण्डवीका दुई जना र सल्यान कपुरकोटका एक जनामा कोरोना देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ४२ जनाको नतिजा पोजेटिभ आएको छ । जसमध्ये धुनषाका एक जना, कपिलवस्तुका दुई जना, काठमाण्डौका तीन जना, नवलपरासीको पाल्हिनन्दन र बर्दघाटका गरी आठ जना, रौतहटका ११ जना, रुपन्देहीको मायादेवीका एक जना, सर्लाहीका १५ जना र सिन्धुपाल्चोकको इन्द्रवतीका एक जनामा कोरोना पुष्टि भएको छ ।

आज तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा पहिलो पटक सङ्क्रमण देखिएको छ । योसँगै नेपालका ६४ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया