कोरोना सङ्क्रमण नियन्त्रणकाे लागि सीमा क्षेत्रमा सेनाको 'होल्डिङ क्याम्प'

 जेठ २१, २०७७ बुधबार २१:२१:५४ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कोरोना सङ्क्रमण नियन्त्रणकाे लागि सीमा क्षेत्रमा नेपाली सेनाको होल्डिङ क्याम्प खडा गरिएको छ । नेपाली सेनाका मेजरको कमाण्डमा २० जना सेनाहरुलाई होल्डिङ क्याम्प सञ्चालनकाे लागि खटाइएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर र मर्यादपुर सीमा नाका नजिकै नेपाली सेनाले होल्डिङ क्याम्प स्थापना गरी भारतबाट आउने नेपालीहरुलाई सुरक्षित रुपमा गन्तव्यतर्फ पुर्‍याउन सहयोग सुरु गरेको हो । 

यशोधरा गाउँपालिका मर्यादपुरको सुठौलीकाे पशुपति शिक्षा मन्दिरमा होल्डिङ क्याम्प स्थापना गरिसकेको गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयले बताउनुभयाे । कोरोना सङ्क्रमण नियन्त्रणकाे लागि सरकारले नेपाली सेनालाई सीमा क्षेत्रमा खटाएकोप्रति स्थानीयले स्वागत गरेका छन् । तर सरकारको यो कदम भने ढिलो भएको गाउँपालिका प्रमुख पाण्डेयले बताउनुभयाे ।

सेनाले सीमा नाकामा हेल्थ डेक्स स्थापना गरेको छ । भारतका विभिन्न शहरबाट आउने नेपाली नागरिकलाई हेल्प डेक्समा स्वास्थ्य जाँच गरी होल्डिङ क्याम्पसम्म सेनाले पुर्‍याउनेछ ।   

भारतबाट आएकाहरुको नाम र ठेगाना सङ्कलन गरी सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरुलाई खबर गरिनेछ । होल्डङ सेन्टरमा रहनेको खानपिनको प्रबन्ध कृष्णनगरमा कृष्णनगर नगरपालिकाले र मर्यादपुरमा यशोधरा गाउँपालिकाले गरेको छ । होल्डिङ क्याम्पमा भारतबाट घर फर्केका ५० जना सम्मलाई राख्न सकिने प्रबन्ध मिलाइएको छ । 

'सीमा क्षेत्रबाट दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु प्रवेश गर्ने बेलामा यस्तो होल्डिङ सेन्टर निर्माण गरेको भए सीमा क्षेत्रबाट आएका व्यक्तिको व्यवस्थापनमा सजिलो हुन्थ्यो' , गाउँपालिका प्रमुख पाण्डेयले भन्नुभयाे, 'तर ढिलै भए पनि ठिकै छ । अहिले सीमा क्षेत्रमा नेपाल भित्रनेको खासै चाप छैन ।'

कपिलवस्तुमा अहिलेसम्म तीन सय ३७ जनामा कोरोना सङ्क्रमण देखिएकोमा २० जना निको भएर घर फर्केका छन् । जिल्लाका विभिन्न पालिकाहरुले निर्माण गरेको क्वरेण्टीनमा अहिले तीन हजारभन्दा धेरै रहेका छन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया