सुर्खेत : क्वरेन्टीनबाट घर फर्किएका युवककोे मृत्यु

 जेठ २२, २०७७ बिहिबार ११:३२:२६ | मुना हमाल
unn.prixa.net

सुर्खेत - क्वरेन्टीनमा बसेर फर्किएका एक युवकको सुर्खेतमा मृत्यु भएको छ । 

पञ्चपुरी नगरपालिका १, हाँसे गाउँका २० वर्षीय युवकको क्वरेन्टीनबाट घर फर्किएपछि एक्कासी मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएर जनता मावि विद्यापुरको क्वरेन्टीनमा १४ दिन पुरा गरेर बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए ।  

रिपोर्ट नेगेटिभ आए पनि एक हप्ता सुरक्षित भएर होम क्वरेन्टीनमा बस्ने सुझाव अनुसार उनीहरु घर नजिकै गाउँमा मौरीपालनका लागि बनाइएको सामुदायिक भवनमा बुधबार राति ११ बजे पुगेका थिए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले उनको एक्कासी मृत्यु भएको खबर आएको जानकारी दिनुभयो ।

‘घरमा गएर बस्नुभन्दा खाना घरबाटै ल्याउने गरी नजिकै बस्नेगरी सामुदायिक भवनमा बसेका रहेछन्’, उहाँले भन्नुभयो, ‘के भएर मृत्यु भयो भने खुल्न सकेको छैन । हामीले पीसीआर परीक्षण गर्ने तयारी गरेका छौँ ।’

उहाँले स्वाव संकलन गरेर वीरेन्द्रनगरमा परीक्षणका लागि पठाउने तयारी भएको  बताउनुभयो । पीसीआर रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको हो भनेर खुल्ने उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया