कैलाली र कञ्चनपुर नाकाबाट १९ दिनमा भारतबाट फर्किए ६४ हजार नेपाली

 जेठ २२, २०७७ बिहिबार १२:४७:२६ | इन्द्रसरा खड्का
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - भारतले लकडाउनको बीचमै वैशाख ३० गतेदेखि रेल सेवा सुरु गरेपछि नेपाल फर्किनेहरुको भिड बढेको छ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर नाकाबाट मात्रै गएको जेठ १ गतेदेखि जेठ १९ गतेसम्म ६३ हजार ८ सय ६९ नेपाली भारतबाट फर्किएका छन् ।  

रोजगारीको लागि भारत गएकाहरु सुदूरपश्चिमका ९ जिल्लालगायत ४० जिल्लाका सीमा नाकाबाट नेपाल फर्किएका छन् । छिमेकी देशबाट फर्किने क्रम बढेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमितहरु बढेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

कुन जिल्लामा कति फर्के ?

अछाम : गएको जेठ १ गतेदेखि १९ गतेसम्म अछाममा ४ हजार २ सय जना भारतबाट फर्केका छन् । उनीहरु सबैलाई क्वरेण्टीनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बैतडी : जेठका सुरुका १९ दिनमा बैतडीमा ५ हजार ३ सय ८६ जना भारतबाट फर्किएका छन् । उनीहरु आआफ्नो स्थानीय तहमा रहेको क्वरेण्टीनमा बसेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । जोशीका अनुसार लकडाउन सुरु भएदेखि अहिलेसम्म २ हजार ४ सय ३० जना क्वरेण्टीनमा बसेर घर फर्किएका छन् । 

डोटी : डोटीमा ७ हजार ९ जना नेपाली भारतबाट फर्किएका छन् । उनीहरु सबै क्वरेण्टीनमा बसेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । लकडाउन सुरु भएदेखि अहिलेसम्म ३ सय ५ जना क्वरेण्टीनमा बसेर घर फर्केका छन् ।

कञ्चनपुर : भारतबाट ७ हजार ९ सय २७ जना फर्केर कञ्चनपुरका क्वरेण्टीनमा बसेका छन् । जिल्लामा रहेका विद्यालय र वडा कार्यालय गरी १ सय ६६ वटा क्वरेण्टीन निर्माण गरिएका छन् । अहिलेसम्म ९ सय ७४ जना क्वरेण्टीनमा बसेर घर फर्केका छन् भने क्वरेण्टीनमा रहेका सबैको स्थानीय तहहरुले व्यवस्थापन गरिरहेको प्रमुख जिल्ला अधिकारी नरहरि खतिवडाले बताउनुभयो । 

कैलाली : सीमा नाका खुलेदेखि कैलालीमा १२ हजार ५० जना भारतबाट फर्केको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । अहिलेसम्म ५ हजार ३ सय ४३ जना क्वरेण्टीनबाट घर फर्किसकेका छन् । 

बाजुरा : बाजुरामा २ हजार ९ सय ९८ जना भारतबाट फर्केर क्वरेण्टीनमा बसेका छन् । लकडाउन सुरु भएदेखि अहिलेसम्म ६ सय ४९ जना क्वरेण्टीनमा बसेर फर्किसकेका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो । 

दार्चुला : अन्य जिल्लामा भारतबाट फर्केकाहरु सम्पर्कमा आएपनि दार्चुलामा भने सम्पर्कमा उनीहरु नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गएको जेठ ८ गते दार्चुलाको सीमा नाका पुलघाटबाट ३ सय ७ जना फर्किएका र उनीहरु क्वरेण्टीनमै बसेका प्रशासन कार्यालयले जनाएको छ । अहिले भारतबाट फर्केका ३ सय ७ र नेपालकै विभिन्न जिल्लाबाट फर्केकाहरु क्वरेण्टीनमा बसेका छन् । 

डडेल्धुरा : छ हजार ३ सय ४९ जना सीमा नाका भएर जिल्ला फर्किएका छन् । उनीहरुमध्ये ३ सय ७२ जना क्वरेण्टीनबाट घर फर्किसकेको सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताउनुभयो । 

बझाङ : बझाङमा १ हजार ७ सय ४९ जना सीमा नाका हुँदै जिल्ला फर्किएका छन् । उनीहरु सबै क्वरेण्टीनमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताउनुभयो ।

७३ जना सङ्क्रमित 

गएको जेठ २० गते मङ्गलबारसम्मको तथ्याङ्कअनुसार सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ७३ पुगेको छ । मङ्गलबार एकैदिन २७ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । 

सङ्क्रमित हुनेमा सबैभन्दा बढी कैलालीका ३३ जना छन् भने अछामका १३, कञ्चनपुरका १०, बैतडीका ६, डोटीका ५, बाजुराका ३ र डडेल्धुरा, बझाङ तथा दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको छ । 

आइसोलेसनको अभाव

सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको छ । तर आइसोलेसन वार्ड प्रयाप्त छैन । प्रदेशका ९ वटा जिल्लामा १६ वटा आइसोलेसन वार्ड छन् जसमा जम्मा १ सय ८० शैय्या छन् । सङ्क्रमितको सङ्ख्या यही दरमा बढ्दै जाने हो भने निकट भविष्यमा आइसोलेसन वार्ड अभाव हुने चिकित्सकहरु बताउँछन् ।
सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा पनि थप आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले केही गर्न नसकेको गुनासो जनस्तरमा बढ्न थालेको छ । 
सुदूरपश्चिम प्रदेशमा १४ शैय्याको आईसियू वार्ड र ८ वटा भेन्टिलेटर छन् । सङ्क्रमित सबैको अवस्था सामान्य रहेकाले अहिलेसम्म आइसियूमा भर्ना गर्नुपर्ने अवस्था आएको छैन । 

क्वरेण्टीनको जिम्मा स्थानीयलाई

सुदूरपश्चिममा रहेका सबै क्वरेण्टीनको जिम्मा स्थानीय सरकारलाई दिइएकोे छ । तर सबै क्वरेण्टीन मापदण्डअनुसार छैनन् । कतिपय क्वरेण्टीनमा खाना पकाएर खुवाउने गरिएको तर कतिपयमा चामल दाल उपलब्ध गराएपछि आफैँले पकाएर खानुपर्ने अवस्था छ । 

क्वरेण्टीनमा स्वास्थ्यजाँचको व्यवस्था नगरिएको क्वारेन्टीनमा बसेकाहरु बताउँछन् । एउटै क्वरेण्टीनमा धेरै जना हुँदा र चेकजाँच पनि नहुँदा आफूहरु जोखिममा परेको क्वरेण्टीनमा बस्नेहरुले बताएका छन् ।

के गर्दैछ सुदूरपश्चिम सरकार ?

प्रदेश सरकारले केही काम नगरेको गुनासो आइरहेको बेला उसले भने सक्दो काम गरिरहेको दाबी गरेको छ । प्रदेश सरकारले ४० करोड रुपैयाँको कोरोना कोष स्थापना गरेर काम गरिरहेको जनाएको छ । कोषमार्फत अहिलेसम्म १ करोड १५ लाख रुपैयाँकोे स्वास्थ्य सामाग्री ल्याइसकिएको छ भने अझै ३ करोड रुपैयाँको टेण्डर आह्वान गरिएको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले बताउनुयो ।

भारतबाट फर्किनेहरुको सङ्ख्या बढेसँगै चेकजाँचका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको उत्तिकै अभाव रहेको मन्त्री सुबेदीले स्वीकार्नुभयो । कोरोना जाँच गर्न चाहिने आरडिटी र पिसीआर किट प्रयाप्त मात्रामा नभएकाले समस्या भएको भन्दै मन्त्री सुबेदीले आवश्यक सबै सामाग्रीको लागि बोलपत्र आह्वान गरिएको बताउनुभयो । 

भारतबाट फर्केका नेपालीलाई जिल्लामा सुरक्षित तरिकाले राख्न स्थानीय सरकारलाई निर्देशन दिइएको मन्त्री सुबेदीले भन्नुभयो ।  
 

अन्तिम अपडेट: चैत १६, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया