मास्क नलगाउनेलाई विमानस्थल प्रवेशमा निधेष : ज्वरो र खोकी लागेका व्यक्ति जहाज चढ्न नपाउने

 जेठ २३, २०७७ शुक्रबार १२:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको महामारीका बेला जहाज उडान, ग्राउन्डिङ र सञ्चालनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशिका बनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने हिसाबले निर्देशिका बनाइएको प्राधिकरणले जनाएको छ ।  कुनै पनि उडान गर्दा यात्रु, एअरलाइन्स कम्पनी, विमानस्थल लगायतका पक्षले निर्देशिका पूर्णरुपमा पालना गर्नुपर्ने प्राधिकरणले जनाएको छ । 

निर्देशिका अनुसार ज्वरो आएका, रुघाखोकी लागेका र स्वाद र गन्ध थाहा नपाउने यात्रुले जहाजमा यात्रा गर्न पाउने छैनन् । मेडिकल मास्क अनिवार्य गरिएको छ । शरीरको तापक्रम ३८ डिग्री सेल्सियस वा १ सय दशमलव ४ फरेनहाइटभन्दा कम हुनुपर्नेछ । विमानस्थलमा भिडभाड गर्न पाइनेछैन । 

यस्तै जहाजमा पत्रिका र म्यागेजिन बोक्न प्रतिबन्ध लगाइएको छ । आन्तरिक उडानमा जहाजले खाजा या अन्य खानेकुरा दिन पाउनेछैनन । ७० वर्ष नाघेका, गर्भवती र गम्भीर बिरामीलाई यात्रा नगर्न सुझाव दिइएको छ । कुकुर, बिरालो लगायतका जनावरलाई जहाजबाट यात्रा गराउन पाइनेछैन । 

विमानस्थल र जहाजमा के गर्न मिल्ने र के गर्न नमिल्ने लगायतका जानकारी एअरलाइन्स अपरेटरले होर्डिङबोर्ड, फ्लेक्स वा स्कृनमार्फत दिनुपर्नेछ । एअरलाइन्स कम्पनीहरुले नेपाल नागरिक उड्यन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आई बनाएका नियम पूर्णरुपमा पालना गर्नुपर्नेछ ।

हरेक उडानअघि जहाजलाई इन्फेक्सनरहित बनाउनुपर्नेछ । एअरलाइन्सले स्यानिटाइजर उपलब्ध गराउनुपर्नेछ । भौतिक दूरी कायम राख्नुपर्नेछ, एअरलाइन्सका कर्मचारीले पूर्ण रुपमा सुरक्षाका उपकरण प्रयोग गर्नुपर्नेछ । उडान अवधिमा जहाजका कर्मचारीलाई पीपीई अनिवार्य गरिएको छ । 

यस्तै विमानस्थल प्रवेश गर्ने सबैको गेटमै तापक्रम जाँच हुनेछ । मास्क नलगाएका व्यक्ति विमानस्थलमा प्रवेश नै गर्न पाउनेछैनन । 

टर्मिनल भवनभित्र कम्तीमा १ मिटरको दूरी कायम गरेर बस्नुपर्नेछ । कोरोनाको शंका लागेका व्यक्तिलाइ विमानस्थलले छुट्टै कक्षमा राख्नेछ । सबै कर्मचारीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । विभिन्न स्थानमा स्नानिटाइटर, धारा र  साबुन उपलब्ध हुनेछ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया