विस्फोटक पदार्थसहितको भूईंकटर खाएपछि गर्भवती हात्ती मरेको सम्बन्धमा भारतमा अनुसन्धान सुरु

 जेठ २३, २०७७ शुक्रबार १४:२०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा विस्फोटक पदार्थसहितको भूईंकटर खाएपछि गर्भवती हात्ती मरेको सम्बन्धमा वन अधिकारीले अनुसन्धान थालेका छन् ।

गएको हप्ता केरलामा गर्भवती हात्तीको मृत्युपछि अहिले भारतभर नै आक्रोश बढेको छ । यस्तै सामाजिकल सञ्जालमा पनि यस्तो चौतर्फी विरोध भइरहेको छ ।

विस्फोटपछि गम्भीर घाइते भएको हात्तीले धेरै दिन गम्भीर पीडा सहेको विज्ञलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटक पदार्थ खाएर गम्भीर बिरामी परेको यो हात्तीले कष्टकर मृत्युवरण गरेको भन्दै अहिले विरोध भइरहेको छ ।

तीन दिनसम्म नदीमा डुबेर बसेको घाइते हात्तीको त्यसपछि मृत्यु भएको थियो । पशु चिकित्सकले गर्भवती हात्तीलाई बचाउने प्रयास गरे पनि सफल भएनन् ।
विस्फोटक पदार्थे भरिएको भूईंकटर खाँदा हात्तीको मृत्यु भएपछि मानवतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

हात्तीलाई जानी जानी यस्तो खानेकुरा दिइएको भन्ने आशंका गरिएको छ तर पुष्टि भएको छैन । वन विभागका अधिकारीका अनुसार मृत्यु हुने गर्भवती हात्तीको उमेर १४ देखि २५ वर्षको थियो । 

हात्तीको आतंक धेरै हुने केरलामा हात्तीलाई विषादी हालेर खानेकुरा दिने यो पहिलो घटना भने होइन । हात्ती लगायत जंगली जनावरविरुद्ध त्यहाँका नागरिकले यसअघि पनि यस्तो गतिविधि गर्ने गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

वन्यजन्तु विज्ञका अनुसार जंगली हात्ती लगायतका जनावरको विनाश रोक्न खानेकुरामा विषदी वा विस्फोटक पदार्थ र जाल हान्ने प्रवृत्ति केरलामा मात्रै नभएर भारतभरी नै पाइन्छ । वाइल्डलाइफ साइन्स कलेज अफ फरेस्ट्रीका पूर्व प्रोफेसर डाक्टर ज्याकब चिरनले बंदेललाई मार्न धेरैजसोले जाल हान्ने वा विषाक्त खानेकुरा दिने गरेको पाइएको बताउनु भएको छ । 

केरलाका मुख्यमन्त्री पिनराई विजयनले यो घटनाको बारेमा गम्भीर छानबिन हुने बताउनु भएको छ । यस्तै, भारतका वातावरण मन्त्री प्रकाश जावेदकरले पनि यो घटनालाई गम्भीर रुपमा लिएको बताउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया