जेठ १९ गते मविरुद्ध सदनमा अभिव्यक्त भएकाे 'हेट स्पीच' संसदीय रेकर्डबाट हटाइयाेस् : सांसद गिरी

 जेठ २३, २०७७ शुक्रबार १४:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्नाविरुद्ध सदनमा अभिव्यक्त भनाइलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समय मागेर बोल्दै उहाँले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभएको हो । उहाँले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै त्याे मन्तव्य संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गिरीले त्याे अभिव्यक्तिलाई आधार मानेर कानुनी कारबाही अघि बढाउन सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण पनि गराउनुभयो । उहाँले नाम उल्लेख नगरिकन सांसद गिरीले ती सांसदले दिएको अभिव्यक्तिलार्ई 'घृणाको मन्तव्य' को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, 'जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिए । मेरो अनुपस्थितिमा संसदका एक माननीयजीले जुन मन्तव्य दिनुभयो, त्यसलाई घृणाका मन्तव्य भनिन्छ । अंग्रेजीमा यसलाई 'हेट स्पीच' भनिन्छ । किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो । मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आक्रमण गर्न सक्थेँ । साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्नुभयो । म त्यस्तो भाषा प्रयोग गर्दिन । म प्रेमपूर्ण ढङगले आफ्नो भनाइ राख्छु । म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेट स्पीच कानुनी कारबाहीकाे लागि पर्याप्त हुन्छ । त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।' 

उहाँले चाँदीको चम्चामा कसैले सभासद पद नदिएको भन्दै सबैले आ–आफ्नो पदीय मर्यादामा रहेर अरुसँग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताउनुभयो ।

सांसद अमृता देवी अग्रहरीले सांसद गिरीको पक्षमा मन्तव्य दिँदै गङ्गा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफ माग्नुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, '१९ गतेको बैठकमा माननीय गङ्गा चौथरीलेले प्रयोग गर्नुभएको शब्दप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । म स्पष्ट रुपमा भन्न चाहन्छु, माननीय गङ्गा चौधरीले माफी माग्नुपर्छ ।' 

सदनमा सांसदको रुपमा उपस्थित भएका सबैले निश्चित प्रक्रिया पूरा गरेर आएको भन्दै उहाँले सबैको सम्मान गर्ने गरी मन्तव्य दिन पनि आग्रह गर्नुभयो । उहाँले हिन्दी भाषामा बोल्दा आफूहरुमाथि भेदभाव गरिँदै आएको आरोप पनि लगाउनुभयो । सांसद अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादा विपरीत नाम नै किटान गरेर अभिव्यक्ति दिइएको भन्दै आपत्ति जनाएका थिए ।

गएकाे जेठ १९ गतेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद गङ्गा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित नेपाली भूमिकाे विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ति जनाउनुभएको हो ।

सांसद सद्गौवाले भन्नुभएको थियो, 'अनुदानसँग जमिन स्वाभिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन । नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । न हेपिएको गाउँ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह र छलफल गर्नुपर्‍याे रे । आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन् अनि रअका एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पूर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् ।' 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Prem Raj

    June 6, 2020, 9:36 a.m.

    नेपालमा बसेर भारतको पक्षमा बोल्नेलाई निकाला गरियोस /

  •  0 Reply

तपाईको प्रतिक्रिया