बर्दियामा थप २८ जनामा कोरोना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ४१ पुग्याे

 जेठ २४, २०७७ शनिबार १४:५३:३७ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा शुक्रबार एकैदिन २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिनअघि विदेशबाट घर फर्किएका बर्दियाको पाँच वटा पालिकाका २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निीिक्षक कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो । 

आज थपिएकामा गुलरिया नगरपालिका ३ का नौ जना, वडा नम्बर ६ का एक जना र वडा नम्बर १० का एक जना रहेका छन् । राजापुर नगरपालिका १० का तीन जना र वडा नम्बर ८ का दुई जना रहेका छन् । साथै बाँसगढी नगरपालिका ९ का तीन जना, वडा नम्बर २ का एक जना र वडा नम्बर ६ का एक जना रहेका छन् । 

यस्तै मधुवन नगरपालिका वडा नम्बर २ का दुई जना र वडा नम्बर ५ का दुई जना रहेका छन् । बढैयाताल गाउँपालिका ७ का दुई जना र वडा नम्बर ६ का एक जना रहेका छन् ।

सङ्क्रमित सबै जना क्वरेण्टीनमा बसिरहेका र उनीहरुको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको जनस्वास्थ्य निरीक्षक चौधरीले बताउनुभयो । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणको क्रममा २८ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार एकैदिन २८ जना सङ्क्रमित थपिएसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । यसअघि १३ जना सङ्क्रमित रहेका थिए ।सङ्क्रमितमध्ये बर्दिया गुलरिया ११ लालपुरका एक जना र राजापुर ५ की बालिका निको भएर घर फर्किसकेका छन् । 

६ नगरपालिका र दुई गाउँपालिका रहेको बर्दियामा अहिलेसम्म ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा भने कोरोना सङ्क्रमित भेटिएका छैनन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया