धनगढीकी महिलाकाे काेराेना सङ्क्रमणकाे कारण मृत्यु भएकाे पुष्टि, सेती प्रादेशिक अस्पतालकाे डायलासिस वार्ड सिल

 जेठ २४, २०७७ शनिबार १७:४४:४७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका ४ कि महिलामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

लामो समयदेखि मिर्गाैलासम्बन्धी रोगबाट पीडित उहाँ पहिलो पटक डायलासिस गराउनकाे लागि सेती अस्पताल पुग्नुभएकाे थियाे । डायलासिस अघि उहाँको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिनुभयाे । मृत्युपछि थ्रोट स्वाबको नमुना सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो।  मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ ।

मृतक महिलाले यसअघि नेपालगञ्ज र काठमाण्डौमा डायलासिस गराउँदै आउनुभएकाे थियाे ।

यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । भारतबाट फर्किएर क्वरेण्टीनमा बसेकी बाजुराको बूढीगङ्गा नगरपालिका १ की बालिकाको कोरोनाकाे कारण मृत्यु भएको थियो ।

मृतककी आमामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अहिले उहाँकाे बाजुरा अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया