असफलतालाई बदल्न सरकार तयार रहोस् : कांग्रेस सचेतक खाँण

 जेठ २५, २०७७ आइतबार १६:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले असफलतालाई बदल्नकाे लागि तयार रहन सत्तारुढ दललाई सुझाव दिनुभएको छ । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा उहाँले कोरोना, बाढी पहिरो तथा प्रशासनिक व्यवस्थापनलगायतमा सरकार पूर्णरुपमा असफल भएको बताउनुभएको हो । 

सरकार तथा प्रधानमन्त्री असफल भए पनि देश असफल हुन नसक्ने भन्दै उहाँले असफल प्रधानमन्त्री र असफल सरकारलाई बोकेर नहिँड्न सत्तापक्षका सांसदहरुलाई सुझाव दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘कोरोना, बाढी पहिरो, प्रशासन व्यवस्थापनलगायतमा पूर्णरुपमा सरकार असफल भएको छ । सत्तासीन पार्टी गम्भीर बनोस् । असफलतालाई बदल्न तयार होस् । सरकार असफल होला, प्रधानमन्त्री असफल हुनुहोला, देश असफल हुनुहुँदैन । यस विषयमा सत्तासीन पार्टीले गम्भीर निर्णय गरोस् ।'

उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणबाट फिर्ता ल्याउने विषयमा बजेट विनियोजन नभएकाेले आवश्यक बजेट छुट्याउन पनि माग गर्नुभयो । 

साथै देशको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै उहाँले सरकारलाई ‘चकलेटी सरकार’ को संज्ञा दिनुभयो ।

उहाँले विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाउनुभएको छ । उहाँले बन्द रहेका शैक्षिक संस्था सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रीले दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया