पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - नेपालमा सलह किराको जोखिम तत्काललाई टरेको छ । कीट विज्ञले झुन्डमा हिँड्ने सलह किराको समूह विभाजित भएको र उनीहरुको बहाव भारतकोे दक्षिण पूर्वतिर सर्ने सम्भावना रहेकोले नेपालमा जोखिम तत्काललाई टरेको बताएका छन् । वरिष्ठ कीट विज्ञ डाक्टर सुनिल अर्यालका अनुसार सलहको बहाव उत्तरतिर सरेको भए नेपालमा जोखिम हुन्थ्यो । तर किराको बहाव दक्षिण पूर्वतर्फ सरेकोले तत्काललाई सङ्कट टरेको छ ।
नेपालमा मनसुनी गतिविधि सुरु हुन थालेको र सलहको प्रजननका लागि नेपालको हावापानी पनि उपयुक्त नभएकोले यसको जोखिम टरेको अर्यालले बताउनुभयो । सलह किराललाई फूल पार्न मरुभूमिकै हावापानी चाहिन्छ । मरुभूमिको जस्तो हावापानी नेपालमा नभएकोले अहिलेको लागि यो सम्भावना टरेको डाक्टर अर्यालको भनाइ छ । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ) ले पनि यस वर्षका लागि नेपालमा सलहको प्रकोप टरेको जानकारी गराएको बताउनुभयो ।
बर्खामा जोखिम कायमै
करोडौँको झुन्डमा हिँड्ने सलह किराको अहिलेको पुस्ता आउने सम्भावना टरेपनि अर्को पुस्ता आउन नआउला भन्न सकिन्न । हिउँदमा हुर्केका सलह अहिले नआए पनि बर्खामा अर्को झुन्डको जोखिम भने रहने छ । यसको अध्ययन र रोकथामका उपाय र तयारीलाई निरन्तरता दिइने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो ।
तर बर्खाको समयमा नेपालमा लगातारजसो झरी र बादल लाग्ने गरेकाले यो किरा आउन सक्दैन । बादल लागेको बेला सलह किरा उड्न नसक्ने विज्ञले बताएका छन् । बर्खामा पूर्वी क्षेत्रमा हावा चल्ने भएकोले जोखिम भने धेरै नहुने विज्ञको भनाइ छ । तर तत्काललाई सलह आउने जोखिम टरे पनि सम्भावना केही बाँकी रहेकोले सतकर्ता अपनाउनुपर्ने विज्ञहरुको सुझाब छ । कीट विज्ञ डाक्टर अर्याल भन्नुहुन्छ, ‘सलह किरा नेपाल प्रवेश गरिहाले पनि बच्चा पार्नका लागि यहाँको हावापानी उपयुक्त छैन । त्यसैले जोखिम धेरै हुने सम्भावना छैन ।’
यो किराले उपयुक्त चिस्यान भएको नरम बालुवामा सतहभन्दा ५ देखि १५ सेन्टिमिटरभित्र पर्नेगरी अण्डा पार्छ । सलह किराले चामलको दानाको आकारका अण्डा समूहमा पारी कोसा बनाउँछ । विज्ञका अनुसार झुन्ड बनाउने प्रवृत्तिको पोथीले एउटा कोसामा बढीमा ८० र एकल प्रवृत्तिका पोथीले ९० देखि १ सय ६० सम्म अण्डा पार्छ । साधारणतया एउटा पोथीले ६ देखि ११ दिनको फरकमा तीन पटकसम्म अण्डा पार्छ । नेपालमा सलहको वंशवृद्धिका लागि मरुभूमिको जस्तो उपयुक्त वातावरण नभएकोले यसले पुस्ता बढाउन सक्दैन ।
सातै प्रदेशलाई तथ्यपत्र पठाइँदै
सलह किराको झुन्ड दक्षिण अफ्रिकाबाट मध्यपूर्व र पाकिस्तान हुँदै भारतसम्म आइपुगेपछि नेपालमा पनि आउन सक्ने भन्दै रोकथामको तयारी भइरहेको छ । तर झुन्डमा आउने यस किराबारे धेरैलाई थाहा नभएकाले आइतबार सातै प्रदेशलाई तथ्यपत्र पठाउने तयारी सरकारले गरेको छ ।
सलह किरा आइहाले रोकथाम कसरी गर्ने र बालीनालीको सुरक्षा कसरी गर्ने भनेर तथ्यपत्रमा सबै जानकारी उल्लेख गरिएको छ । सातै प्रदेशमा यो पत्र पठाएर कृषि प्राविधिकमार्फत किसानलाई सचेत गराउने तयारी सरकारको छ । तथ्यपत्रमा सलह किराको परिचय, प्रकार, यसको जीवनचक्र र यसले बालीमा पुर्याउने क्षति र रोकथामका उपाय समेटिएको छ ।
सरकारले सलह किराको रोकथाम र नियन्त्रणका लागि प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको संयोजकत्वमा प्राविधिक कार्य दल बनाएको छ । कीट विज्ञ सम्मिलित यो कार्यदलले अहिले पनि काम गरिरहेको छ ।
यो किरा एकै पटक ४ करोडदेखि ८ करोडसम्मको झुन्डमा उड्छ । यस्तै यो किराले एक पुस्तामा आफ्नो सङ्ख्या २० गुणा बढाउने विज्ञले बताएका छन् ।
विज्ञका अनुसार आकारमा सलह किरा सानो भएपनि एकै पटक करोडौँको सङ्ख्यामा हुने भएकाले बालीनाली सखापै पार्छ । कीट विज्ञ अर्यालका अनुसार एक स्वायर किलोमिटरमा बस्ने सलहको समूहले १० हात्ती बराबर र २५ सय मानिसको आहार बराबरको बाली नष्ट पार्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।