गाउँपालिकाको कार्यालयमै बिजुली पुगेको छैन, सोलरले धान्दै स्थानीय सरकारको काम

 साउन १७, २०७५ बिहिबार ७:१:० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – गाउँपालिकाको कार्यालयमै बिजुली लाइन नपुग्दा दैनिक कामकाज गर्न समस्या भएको छ । बिजुली बत्ती नहुँदा कम भोल्टेजको सोलार बत्तीको भरमा रामप्रसाद राई गाउँपालिका कार्यालयको सम्पूर्ण काम प्रभावित बनेको हो ।

कार्यालय रहेको स्थानमा घाम नग्लाग्ने भएकोले पनि सोलार सेटबाट काम सञ्चालन गर्न समस्या भएको छ । बिजुली बत्ती कार्यालयसम्म नपुग्दा सोलार बत्तीकै भरमा प्रिन्ट, फोटोकपी, कम्प्यूटर, इन्टरनेट, डकुमेन्टेसन जस्ता अत्यावश्यक काममा असहज भएको रामप्रसाद राई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बुले बताउनुभयो ।

‘हाम्रो गाउँपालिका ओझेल ठाउँमा पर्छ । राम्रोसँग घाम सोलारमा नपरेपछि ब्याट्री ब्याकअपले पनि धान्दैन । कतिखेर झ्याप्प जाने हो टुङ्गो हुँदैन ।’ लिम्बुले भन्नुभयोे, ‘हिउँदमा त दुःख–सुख धान्ला तर बर्षा लागेपछि भने सोलारबाट काम गर्न अति नै गाह्रो छ ।’ 

बिजुली बत्तीको समस्याले कार्यालयको काम गर्न कर्मचारीलाई विदाको दिनमा पनि फूर्सद हुँदैन । केन्द्रीय प्रशारणको बिजुली लाइन तान्ने पहल गरिए पनि काम हुन सकेको छैन । 

गाउँपालिकामा बिजुलीको समस्या सँगसँगै कर्मचारी अभावको पनि उत्तिकै समस्या छ । स्थानीय सरकारपछि पनि कार्यालयको प्रशासन, आर्थिक कारोबार हेर्न काम चलाउ लेखापालकै भरमा कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ ।

गएको पुस ६ गते गाउँपालिकाको पहिलो गाउँसभापछि जिल्ला प्राविधिक कार्यालयले पठाएका लेखापाल प्रदीप भण्डारीको दोहोरो कार्यभार र कार्यालयमा नियमित अनुपस्थित भएपछि एक महिनामै काजमा सरुवा लिए । कार्यालयको काम गर्न गाह्रो भएपछि त्यस लगत्तै कार्यालयले महिला र भूसंरक्षण कार्यालय हेरिरहेका मनोज कुमार शर्मालाई लेखापाल नियुक्ति गरेको थियो ।

अन्य शाखा हेर्न पनि गाउँपालिकाले जिल्ला प्राविधिकमा कर्मचारी नियुक्तिको सिफारिस माग गरे पनि विभिन्न प्राविधिक समस्याले कर्मचारी दिन सकेन । पछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमार्फत अस्थायी कर्मचारी विज्ञापन खुलाई अस्थायी कर्मचारी नियुक्ति गरेको थियो । गाउँपालिकाको विषयगत कार्यालयमध्ये अहिलेसम्म शिक्षा शाखाको कार्यालयको टुङ्गो लागेको छैन ।

भौतिक योजनामध्ये अहिलेसम्म सडकको कामले मात्र गति लिएको गाउँपालिका प्रमुख विजय राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया