ठेकेदारले काम नगरेपछि नगरपालिका आफैँले थाल्यो सडक मर्मतकाे काम

 साउन १७, २०७५ बिहिबार ११:२७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – बजार क्षेत्रको सडक निर्माणमा ठेकेदार कम्पनीले लापरवाही गरेपछि लालीगुराँस नगरपालिका आफैँले सडक मर्मत थालेको छ । हिलो भई सवारी चल्न नसकेपछि बसन्तपुर खेल मैदानअघि र टुटेदेउराली खण्डको झन्डै ३ किलोमिटर सडक नगरपालिका आफैँले मर्मत थालेको हो ।

सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगरेपछि नगरपालिकाको बजेटबाटै सडक मर्मत थालिएको नगर प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो । संखुवासभा र ताप्लेजुङतर्फ सवारी जाने टुटेदेउराली खण्ड पनि हिलाम्मे भएको छ । यही सडककै कारण ३ जिल्लाको सडक सम्पर्कविच्छेद भएपछि नगरपालिकाले सडक मर्मत थालेको हो ।
  
यो खण्डको सडक मर्मतका लागि वाईपी कन्स्ट्रक्सनले ४ करोड ४५ लाख लागतमा मर्मत गर्न ०७३ असारमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीलाई ताकेता गर्दा पनि काम नगरेपछि कार्यालयले कारबाही गर्ने तयारी गरिरहेको डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताउनुभयो ।

वर्षाका कारण सडक हिलाम्मे भएपछि अहिले बसन्तपुर बजार र आसपासको सडकमा पैदल यात्रु आवत्जावत् गर्न समेत समस्या भइरहेको छ ।

याे पनि हेर्नुहाेस्ः

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया