विदेशमा हुनेले आफ्नो स्वास्थ्य र सुरक्षामा खेलाँची नगरौं

 साउन १७, २०७५ बिहिबार ११:४८:८ | मेरो कथा मेरो भोगाई

शेषराज न्यौपाने/चन्द्रगढी झापा, हाल युएई । 

म यहाँ आएको १० वर्ष भन्दा धेरै भयो । यहाँ सेक्युरिटी गार्डको काम गर्छु । ठगिएका, अलपत्र परेका, समस्यामा परेका परदेशी समस्या धेरै सुनिन्छ । मलाई चाहिँ आफूले ख्याल गर्नुपर्ने अनि ख्याल नगर्दा समस्यामा पर्न सक्ने केही कुरा भन्न मन लाग्यो । 

सुरुमा हाम्रै लापरवाहीको कुरा गरौं । धेरैको रक्सी खाने बानी हुन्छ । यो बानी विदेश आएपछि पनि उस्तै हुन्छ । तर विदेशमा गाउँघरको जस्तो हुँदैन । यहाँ नियम हुन्छ । तर रक्सी खाएपछि गाउँघरकै जस्तो व्यवहार देखाउँछौं । खाउञ्जेल सँगै भएका साथीलाई चिन्दैनौं ।

आफू आफूमै झगडा गर्न पनि पछि पर्दैनौं । त्यसले हामीलाई समस्यामा पार्छ । विदेशमा सार्वजनिक ठाउँमा रक्सी खान पाइँदैन । तर धेरै नेपालीहरु यहाँका सार्वजनिक ठाउँमै बसेर रक्सी खाइरहेका भेटिन्छन् । यस्तो गर्नुहुँदैन ।

रमाइलो गर्न पाइएपनि सार्वजनिक ठाउँहरुमा भने यस्तो काम गर्नुहुँदैन । त्यसले आफैंलाई समस्यामा पार्छ । अर्को चाहिँ आफ्नो सुरक्षाको कुरा । त्यसमा पनि सडक सुरक्षा विदेशमा मुख्य कुरा हो ।

नेपालमा पनि सहरी क्षेत्रमा त सडक अनुशासनको कुरा हुन्छ । तैपनि त्यति धेरै ख्याल गरिँदैन । विदेश आएपछि पनि नेपालीहरुले त्यस्तै सोच्छन् । त्यसले दुर्घटनामा परेर ज्यान नै जान पनि सक्छ ।

हुन त जेब्राक्रस भएको ठाउँबाट बाटो काट्नु हुँदैन भन्ने थाहा त हुन्छ । तर हतारमा भएका बेला त्यसको ख्याल गर्दैनौं । जसले गर्दा हाम्रो ज्यान नै जान सक्छ । त्यसैले यसको ख्याल गर्नुपर्छ ।

अब चाहिँ स्वास्थ्यको कुरा गरौं । विदेश आउने सबैको उद्देश्य पैसा कमाउनु नै हो । यसो भन्दैमा आफ्नो ज्यानको ख्यालै नगरी काम, काम, काम मात्रै भन्नु हुँदैन । शरीर स्वस्थ छ कि छैन भनेर पनि ख्याल गर्नुपर्छ । 

विदेश आउने सबैसँग इन्स्योरेन्सको कार्ड हुन्छ । त्यसले उपचारमा सहुलियत पाइन्छ । १०/२० रुपैयाँमा उपचार हुँदा पनि हामी ध्यान दिँदैनौं । अनि कतिले त स्वास्थ्य जाँच गराउनु भन्दा त्यो सबै अरुतिर नै खेर फ्यालिरहेका हुन्छौं । 

त्यही कारण युएईमा भएका नेपालीहरुलाई सुगर, कोलेस्ट्रोल जस्ता रोगले सताइरहेको छ । यस्ता समस्यामा बेलैमा ध्यान नदिँदा पछि समस्या जटिल भएपछि आत्तिन्छौं तर त्यतिबेला उपाय नलाग्ने पनि हुन सक्छ । 

त्यसैले यस्ता समस्याबाट बच्न आफैं सचेत हुनुपर्छ । त्यसैले परदेशमा रहेका सबै दाजुभाइलाई मेरो अनुरोध आफ्नो स्वास्थ्य र सुरक्षाका बारेमा खेलाँची नगरौं ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया