'पाठेघरको मुखको क्यान्सरबाट बच्न अविवाहित महिला बढी सचेत हुनुपर्छ'

 साउन १७, २०७५ बिहिबार १४:२५:१९ | विना न्याैपाने

महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ ।

अज्ञानता, शिक्षाको कमी तथा गरिबीका कारण समयमै उपचार गर्न नसक्दा पाठेघरको क्यान्सरबाट बर्सेनि धेरै महिलाको ज्यान जाने गरेको छ । सुरुकै अवस्थामा राेग पत्ता लगाई उपचार गरेमा यस्तो क्यान्सर निको पार्न सकिन्छ ।

डाक्टर अाविस अधिकारी

पाठेघकाे क्यान्सरकाे बारे विना न्यौपानेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विषेशज्ञ डाक्टर अाविस अधिकारीसँग कुराकानी गर्नु भएको छ ।

पाठेघरको मुखको क्यान्सरलाई कसरी बुझ्ने ?

पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनेर बुझौँ । यो नेपालमा  एकदमै धेरै छ । विदेशमा भने एकदम कम महिलालाई यो क्यान्सर हुन्छ ।

अमेरिकाको तथ्यांक हेर्ने हो भने यो क्यान्सर १५ औं नम्बरमा पर्छ, सिंंगापुरमा १० औँ छ । नेपालमा भने महिलाहरूमा यो क्यान्सर एक नम्बरमा पर्छ । भनेपछि हाम्रो देशमा केही न केही त मिलेको छैन । अर्को कुरा, संसारभरीमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै नेपालमा नै हुन्छ । बङ्गलादेश, भारतमाभन्दा पनि जनसंख्याको आधारमा हामीकहाँ धेरै छ ।

के कारणले गर्दा यो क्यान्सर हुन्छ त ?

ह्युमन प्यापिलोमा भाइरस एक प्रकारको भाइरस हो, जसको सङ्क्रमणको कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ । अरु कारणहरुमा :
 

कम उमेरमा विवाह तथा यौनसम्पर्क गर्नु ।
 

कम उमेरमा बच्चा जन्माउनु ।
 

धेरै बच्चा जन्माउनु ।
 

एकभन्दा बढी व्यक्तिहरूसँग  यौनसम्पर्क गर्नु ।
 

यौनरोग तथा गुप्तांगका दीर्घ रोगहरू ।
 

गुप्तांगको सरसफाईमा ध्यान नदिनु ।
 

चुरोट, बिडी, खैनी, तमाखु र सूर्तीजन्य पदार्थको सेवन । 
 

जसले सानो उमेरमै यौनसम्पर्क राख्यो, जो महिलाको छिट्टो बिहे भयो, छिटो बच्चा जन्मायो, उसलाई यो भाइरसको संक्रमण छिटै हुने सम्भावना हुन्छ । ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण भएको १० देखि २० वर्षपछि क्यान्सर हुने हो ।

मानौं १५ वर्षको उमेरमा पहिलो पटक यौनसम्पर्क भयो भनौं या बिहे भयो, त्यसको २० वर्षपछि वा ३५/४० को उमेरमै क्यान्सर हुन सक्छ । २५ वर्षमा पहिलो पटक यौनसम्पर्क भयो भने त उसको क्यान्सर हुने सम्भावना पनि ढिलो हुन्छ । त्यसैले छिटो बिहे भएको, छिटो बच्चा भएको महिलामा ह्युमन प्यापिलोमा भाइरसको संक्रमणसँगै पछि क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
 

पाठेघरको मुखको क्यान्सर यस्तो क्यान्सर हो, जसको कारण थाहा छ, रोकथाम पनि सम्भव छ तर पनि यसैको संख्या बढिरहेको छ । यदि अहिले नै सही तरिकाले अगाडि बढ्यौं भने अबको २० वर्षपछि झन्डै निर्मूल नै बनाउन सकिन्छ पाठेघरको मुखको क्यान्सरलाई ।

क्यान्सर त पछि हुने भयो, पहिला नै कुनै लक्षण देखा पर्छ होला नि ?

पाठेघरमा ह्युमन प्यापिलोमा भाइरसको संक्रमण भैसकेपछि झन्डै १० देखि २० वर्षपछि क्यान्सर हुने हो । तर कसैको शरीर कमजोर छ भने ५ वर्षमै हुन सक्छ । भाइरसको संक्रमण भएदेखि क्यान्सरसम्मको बीचमा यस्ता लक्षणहरू देखा पर्छन् :

योनीबाट फोहोर पानी बग्ने

सेतो पानी बग्ने

घाउ भएको जस्तो हुने, दुख्ने

धेरै चिलाउने

महिनावारीको बीचमा थोरै रगत जाने

यौन सम्पर्कपछि पीडा हुने वा रगत आउने जस्ता लक्षणहरू देखा पर्छन् ।

कतिलाई त कुनै पनि लक्षण नदेखिने हुन्छ । त्यसैले हरेक विवाहित महिलाले वा यौन सम्पर्कमा रहने २०, २५ वर्ष माथिका महिलाले स्त्रीरोग विशेषज्ञलाई देखाउने वा पाठेघरको मुखको पानी जचाउँने (मेडिकल भाषामा प्याप् जाँच) ।

कम्तीमा पनि एक पटक देखाउने र राम्रो रिपोर्ट आएको छ भने ३/३ वर्षमा जाँच गराउन सकिन्छ । तर नयाँ लक्षण केही आएका छन् भने तुरुन्तै जानु पर्छ । यस्ता खालका लक्षण क्यान्सर हुनभन्दा ५, १० वर्ष पहिला नै देखिने हो र त्यही घाउ बिग्रेर नै पछि गएर क्यान्सर हुने हो । त्यसैले छिटै उपचार गर्यो भने त क्यान्सर नै हुँदैन ।

विकसित देशमा हरेक महिलाले प्याप् जाँच गराएकै हुनुपर्छ, नत्र उनीहरूको इन्सुरेन्सले मान्दै मान्दैन । यो बाध्यकारी नै भयो, त्यसैले क्यान्सर हुनुअघि नै पत्ता लाग्छ र निको पनि हुन्छ, त्यसैले क्यान्सर हुने अवस्था कम भयो । हाम्रो देशमा त्यो चलन नै छैन । जबसम्म रोगले थला पार्दैन, तबसम्म हामी अस्पताल नै जाँदैनौ र जब पुग्छौँ, क्यान्सर निकै अघि बढिसकेको हुन्छ ।

रोकथामका लागि के गर्ने त ?

रोकथामको लागि दुई तरीका अपनाउन सकिन्छ । एउटा त नियमित प्याप् जाँच गर्ने । संक्रमण देखिए तुरुन्त उपचार गराउने, रोग अघि बढ्ने नै भएन । अहिले जिल्ला अस्पतालमा पनि यसको जाँच हुन्छ । पाठेघरको मुखको जाँचको लागि डाक्टर नै पनि चाहिँदैन, नर्सहरूले पनि जाँच गर्न सक्छन् । 

अर्को एकदम राम्रो रोकथाम भनेको खोपरभ्याक्सिन लगाउने । ह्युमन (प्यापिलोमा) भाइरसको खोप पत्ता लागेको दश वर्ष भैसकेको छ । विकसित देशमा लगाउनै पर्ने हुन्छ ।

तर हाम्रोमा अहिलेसम्म उपलब्ध हुन सकेको छैन । त्यो खोप लगाउन सकियो भने ९० प्रतिशत भन्दा बढी महिलाहरूमा ह्युमन (प्यापिलोमा) भाइरसको संक्रमण हुँदैन र क्यान्सर नै हुँदैन ।

खोप लगाउन पनि सजिलो छ, अविवाहित १३ देखि २६ वर्षका महिलाले लगाउने । ६ महिनाभित्र तीनवटा खोप लगाउन सकियो भने ९० प्रतिशत भन्दा बढी महिला सुरक्षित हुन्छन् । त्यो भनेको अहिले चार हजार जनालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अब यो भ्याक्सिन लगायौं भने चारसय जनालाई पनि हुँदैन ।

विवाहित महिलाले यो भ्याक्सिन लगाउँदा के हुन्छ ?

यौन सम्पर्कमा आउनुअघि लगाउँदा ९० प्रतिशतभन्दा बढी सुरक्षा हुन्छ । तर यौनसम्पर्क भइसकेका महिलाहरूमा सुरक्षित हुने प्रतिशत ४० जति मात्र हुन्छ । त्यसैले घाटा त छैन, नाफा जुन हामीले पाउँथ्यौ त्यो पाईंदैन ।  लगाउन नहुने भन्ने पनि होइन ।

अविवाहितले त भ्याक्सिन लगाएर हुने भयो विवाहितले के गर्ने त ?

पाठेघरको मुखको पानी जाँच गराउने । रिपोर्ट राम्रो रहेछ भने हरेक तीन, तीन वर्षमा गराउँदा हुन्छ । तीन वर्षमा अस्पताल गएर जाँच गराउनु राम्रो बानी हो । अरू क्यान्सर लागेपछि बचाउन सकिएला, नसकिएला । तर पाठेघरको मुखको क्यान्सर भएर कसैको पनि मृत्यु हुन हुँदैन । यदि भयो भने त्यो हाम्रो स्वास्थ्य व्यवस्थाको कमजोरी हो ।

पाठेघरको मुखको क्यान्सर भए पछि उपचार सम्भव छ ?

क्यान्सर लागेपछि पनि उपचार सम्भव छ । पाठेघरको मुखको क्यान्सरमा पनि चरणहरू हुन्छन् । यसलाई चार चरणमा विभाजन गरिएको छ । अहिले पनि धेरै जना बिरामी दोस्रो, तेस्रो चरणमा आउनुहुन्छ । त्यो भनेको पाठेघरको मुखको घाउ बढेर अरू अङ्गलाई समेत समातेको हुन्छ ।

बिरामी ढिलो अस्पताल पुग्नुको मुख्य कारण चाहिँ पाठेघरको मुखमा घाउ भएर रगत बग्दा धेरैले महिनावारी नै गडबड भएको जस्तो लाग्ने भएर रहेछ । केहीले यौनाङ्ग भएकाले रोगबारे कुरा गर्न अप्ठ्यारो मानेर पनि हुने रहेछ ।

कतिपय बिरामीलाई तल्लो पेट दुख्ने, पिसाब पोल्ने हुन्छ । तर हाम्रो समाजमा यसलाई सामान्य रूपमा लिइन्छ । अनि धेरैजना ‘प्राकृतिक उपचार प्रविधि’ विज्ञापनको पछि जाने र उता केही नभएपछि मात्रै अस्पताल आउने भएकाले ढिला हुन्छ ।

सावधानी कसरी अपनाउने ?

सावधानी भनेको युवा अवस्थाका महिलाले असुरक्षित यौन सम्पर्क राख्न भएन । किनभने ह्युमन (प्यापिलोमा) भाइरस यौन सम्पर्कबाट सर्छ । भ्याक्सिन लगाएको छैन, बिहे भैसक्यो, बच्चा नै भैसक्यो भने प्याप् जाँच अर्थात् पाठेघरको मुखको पानी जाँच गराउनु पर्यो । संक्रमण वा केही नराम्रो रिपोर्ट आयो भने विशेषज्ञ डाक्टरलाई देखाउनु पर्यो ।

पहिलो, दोस्रो चरणमा भेटियो भने ९० प्रतिशत उपचार सम्भव छ । कडा निमोनिया भएको बिरामी निको हुने सम्भावना त्यति नहोला, तर पाठेघरको मुखको क्यान्सर निको हुन सम्भव छ । तर बेलैमा थाहा हुनु पर्यो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया