‘तमसुक च्यात, भकारी फोड’ अभियानका अगुवा भीमदत्तकाे ६६अाैं स्मृति दिवस

 साउन १७, २०७५ बिहिबार १४:२८:४६ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा– किसान नेता एवम् शहीद भीमदत्त पन्तको ६६ औं स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।

किसान योद्धाका रुपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटेर हत्या गरिएका थियो ।

स्मृति दिवसको अवसरमा बिहान डडेल्धुरा बागबजारमा रहेको पन्तको शालिकमा माल्यार्पण गर्नुका साथै उपक्षेत्रीय अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गएिको छ ।
 
यस्तै मध्यान्न १२ बजे होटल माउन्टेन भ्यूमा अन्तरक्रिया र बेलुकी साढे ७ बजे पन्तको शालिक बागबजारमा दीप प्रज्वलन गर्ने कार्यक्रमको रहेको सहिद भीमदत्त स्मृति प्रतिष्ठानका कार्यवहाक अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभयो । 

प्रतिष्ठानले लामो समयदेखि सहिद पन्तको स्मृति दिवस मनाउँदै आएको भएपनि वि.स.२०७२ फागुन १९ गते बुधबारका दिन मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो । 

नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका कोखबाट १९८३ मंसिर १० गते जन्मेका हुन् ।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो ।
पन्त सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए ।

पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए । 

भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम हो । 

उनले ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो – यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया