विश्वभर ४० लाख ६२ हजारभन्दा धेरै सङ्क्रमित निको भए

 जेठ ३२, २०७७ आइतबार २१:२८:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७९ लाख नाघेको छ । 

विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ७९ लाख ६ हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका हुन् । 

सङ्क्रमितमध्ये ४० लाख ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् भने चार लाख ३२ हजार नौ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २१ लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख १७ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । 

कोरोनाबाट धेरै सङ्क्रमित हुने देशहरुमा दोस्रोमा ब्राजिल र तेस्रोमा रुस रहेका छन् । चौथो नम्बरमा रहेको छिमेकी देश भारतमा तीन लाख २२ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएको छ ।

भारतमा कोरोनाको कारण नौ हजार दुई सयभन्दा धेरैको ज्यान गएको छ भने एक लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

यस्तै अर्को छिमेकी देश चीनमा दुई महिनापछि एकैदिन सबैभन्दा धेरै सक्रमित भेटिएका छन् । गएको अप्रिल १३ पछि हिजो एकैदिन ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले जनाएको छ ।  

कोरोना भाइरसको उद्गम देश मानिने चीनमा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ८३ हजार एक सय ३२ पुगेको छ । जसमध्ये ७८ हजार तीन सय ६९  उपचारपछि निको भएका छन् भने चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । एक सय २९ जना उपचार गराइरहेका छन् । 

चीन विश्वका सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका देशहरुको सूचीमा १९ औँ नम्बरमा रहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया