पार्वतीले घरमै कमाउन थालेपछि श्रीमान् साउदीबाट फर्किए (भिडियो)

 साउन १७, २०७५ बिहिबार १६:४२:२९ | सन्जिता देवकोटा

सर्लाही – लालबन्दीकी पार्वती श्रेष्ठको श्रीमान साउदी अरबमा हुनुहुन्थ्यो । पार्वतीले घर चलाउनुहुन्थ्यो । श्रीमानले विदेशबाट खर्च पठाउनुहुन्थ्यो । पार्वतीलाई गाउँघरमा पौरख गरेर आफैंले घर चलाउन सकिन्छ भन्ने नै लाग्दैन थियो ।

श्रीमानले पठाएको पैसा कसरी बचत गर्ने भन्ने पनि थाहा थिएन । तर जब उहाँले वित्तीय शिक्षा पढेर पैसाको महत्व बुझ्नुभयो, त्यसपछि उहाँलाई व्यवसाय र बचतको बारेमा थाहा भयो ।

उहाँ आफैंले व्यवसाय सुरु गर्नुभयो र घर चलाउनुभयो । पार्वतीले कमाइ गरेर घर चलाएपछि श्रीमानले कमाएर पठाएको पैसा बचत हुन थाल्यो । गाउँघरमै पनि आम्दानी गर्ने बाटोहरु देखेपछि पार्वतीले १० वर्षदेखि साउदीमा काम गरिरहेका श्रीमानलाई घर फर्काउनुभयो । फेरि विदेश जान दिनुभएन । 

पार्वतीका कथा उहाँकै शब्दमा (भिडियो)

श्रीमान् साउदीमा गाडी चलाउनुहुन्थ्यो । म घर चलाउथें, तर श्रीमानकै कमाइले । जब २०७३ सालमा मैले आम्दानी हुने र खर्च कम गर्ने काइदाका बारेमा जानें, त्यसपछि मेरै कमाइले घर चल्न थाल्यो ।

भयो के भने, हामीलाई सबै कुरा थाहा हुँदो रहेछ, तर गर्दो रहेनछौं । तर गाउँमै विदेश जानेका परिवारलाई विदेशको दुःख बुझाउने र गाउँघरमै आम्दानी हुने बाटो समात्न सिकाउने कक्षा सञ्चालन भयो । त्यसपछि मलाई केही गर्न आँट आयो । 

विदेशमा धेरै दुःख हुँदोरहेछ, धेरै नसकेपनि थोरै भएपनि बचत गर्नुपर्दोरहेछ भन्नेकुरा सिकेपछि मैले आफैले किराना पसल खोलेर घर चलाउन थालेको हुँ । 

मेरो श्रीमान् १० वर्ष साउदीमा बस्नुभयो । विदेशको कमाइले जग्गा किनेर घर बनायौं । घर बनाउँदा सबै पैसा सकियो । तर अहिले त्यो कक्षामा बसेपछि गाउँघरमै पनि आम्दानी गर्न सकिने रहेछ भन्ने लाग्यो र मैले किराना पसल खोलें । 

सुरुमा त घरको सटर खाली थियो । कसरी व्यवसाय गर्ने भन्ने नै थिएन । डर लाग्थ्यो । तर सुरु गरेपछि हुनेरहेछ । 

अहिले त श्रीमानलाई विदेशबाट बोलाइ सकें । दुई वर्षमा गरेको बचतले विद्युतीय रिक्सा किनेका छौं । मैले पसल चलाउछु । श्रीमानले रिक्सा चलाउनुहुन्छ । उहाँको ३० देखि ४० हजार रुपैयाँ हुन्छ कमाइ ।

मेरो पनि १०/१२ हजारसम्म हुन्छ । सबै जोड्दा उहाँले विदेशमा कमाएको जति हुन्छ । त्यही ६० हजार रुपैयाँ त कमाउनुहुन्थ्यो, उहाँले पनि । 

पहिले ७० हजार रुपैयाँ लगानीमा खोलेको पसल अहिले राम्रोसँग नै चलेको छ । पहिले त केही गर्न सकिंदैन जसरी विदेश पठाइयो । घर बनाइयो । अब त विदेश जानुहुन्न श्रीमान पनि । 

जति छ, त्यति बचत गर्दा पनि निकै फाइदा हुनेरहेछ । पहिले त तरकारी खेती पनि गर्थें, तर अहिले गरेको छुइन । पसल छाड्न मिल्दैन  । छोराछोरी स्कुल पढ्न गइहाल्छन् । 

अब धेरै पैसा कमाएर धनी बन्नु पनि छैन । परिवारसँग रमाइलो गरेर जीवन चलोस्, त्यही हो । यही पसललाई बढाउने योजना छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया