साउदीको जेलमा रहेका दिलबहादुर घर्तीको उद्धारका लागि साढे सात लाख सहयोग

 साउन १७, २०७५ बिहिबार १७:७:३९ | उज्यालो सहकर्मी

काठमाडौं – साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई बचाउन मगर संघ साउदी अरबले साढे सात लाख रुपैयाँ सहयोग गरेको छ । 

मगर संघ साउदी अरबको पहलमा संकलित सात लाख ५० हजार रुपैयाँ नेपाल मगर संघले बिहीबार ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको हो । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को कार्यालयमा आयोजित कार्यक्रममा मगर संघका अध्यक्ष नवीन रोकामगरले समितिलाई सहयोग हस्तान्तरण गर्नुभयो । साउदी अरबमा क्रियाशील एनए मिडिया प्रालि, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट), प्रवासी मिलन एकता समाज, तमु धीं र काभ्रे सेवा समाज लगायतले सहयोग सङ्कलन गरेका हुन् ।

रोल्पा नगरपालिका–१०, रोल्पाका दिलबहादुर घर्ती दुई वर्षदेखि साउदीको जेलमा हुनुहुन्छ । उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाउँदै मृतकका परिवारलाई २ लाख २५ हजार रियाल अथवा झण्डै ६५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । यस्तै मगर संघ, कतार शाखाले दिलबहादुर घर्ती र कुमार रानाका लागि २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया