५ वर्षपछिको पर्यटन : १० वटा जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने, वार्षिक २५ लाख पर्यटक नेपालमा !

 साउन १७, २०७५ बिहिबार १९:२६:३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उद्योगमन्त्री मात्रिका यादव र सबै प्रदेशका पर्यटनमन्त्रीको उपस्थितिमा मन्त्रालयमा भएको कार्यक्रममा ५ वर्षे कार्ययोजना सार्वजनिक गरिएको हो । 

कार्ययोजनामा नेपालमा ५ वर्षपछि एकैवर्ष २५ लाख पर्यटक ल्याउने लक्ष्य राखिएको छ । यसबाट नेपालको कुल ग्राह्थ उत्पादनमा १० प्रतिशत टेवा पुग्ने मन्त्रालयको दावी छ । 

५ वर्षभित्र १० वटा विमान,  ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल 

२०७९-८० सम्म वाइडबडी र न्यारोबडी गरी १० वटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज हुने पनि कार्ययोजनामा उल्लेख छ । १० वटा जहाजले संसारका धेरैजसो ठाउँमा उडान गर्न सक्ने दावी मन्त्रालयको छ । ५ वर्षपछि नेपाल वायुसेवा निगमले नेपाली बजारमा ६० प्रतिशत हिस्सा ओगट्ने, र त्यसको लागि १० वटा अन्तर्राष्ट्रिय र १५ वटा आन्तरिक उडान गर्ने विमान निगमसँग हुने कार्ययोजनामा उल्लेख छ । 

हरेक स्थानीय तहमा १-१ वटा हेलिप्याड बनाउने, अन्तरप्रादेशिक उडान तीव्र हुने, काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बन्ने र त्रिभुवन विमानस्थलको ३० प्रतिशत हवाई ट्राफिक घट्ने  ५ वर्षे कार्ययोजनामा उल्लेख छ । यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत पूरा गर्ने पनि कार्ययोजनामा उल्लेख छ । 

२०७९-८० सम्म त्रिभुवन विमानस्थल विस्तार पूरा हुने, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुने र नेपालमा पर्यटकको संख्या बढ्ने उल्लेख छ । संघीय, प्रदेश र स्थानीय गरी ३ वटै सरकारले आवश्यक नीति बनाएर कार्यान्वयन गर्दा यो उपलब्धि पूरा हुने पनि मन्त्रालयको दावी छ

यस्तै ५ वर्षभित्र नेपालका सबै होटलको गुणस्तर डिजिटल माध्यमबाट अनुगमन गरिने, पर्यटन सेवामा गुणस्तर कायम हुने, मापदण्ड बनाएर तारे र गैरतारे होटलको वर्गीकरण पनि गरिसक्ने कार्ययोजनामा उल्लेख छ । 

यसै वर्षको बजेटमा परेका १ सय वटा गन्तव्यलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने मन्त्रालयको योजना छ । ५ हजार जना क्षमता भएको अन्तर्राष्ट्रिय सेमिनार हल बनाउने, फेवातालमा अन्तर्राष्ट्रिय स्तरको सफ्ट एडभेन्चर पूर्वाधार तयार हुने, अन्तर्राष्ट्रिय स्तरको फनपार्क सञ्चालनमा ल्याउने मन्त्रालयको योजना छ । हरेक वर्ष पर्यटन विधामा १० हजार दक्ष जनशक्ति उत्पादन गर्ने, पर्यटन विश्वविद्यालय स्थापना गर्ने पनि योजना रहेको छ । 

विश्वका ठूला मिडियामा नेपालको प्रचार

संस्कृित पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले  ५ वर्षपछि विश्वमा कहलिएका मिडिया र सामाजिक सञ्जालमा नेपालको पर्यटन क्षेत्रबारे धेरै सामग्रीको प्रचारप्रसार हुने पनि दावी गरेको छ । नेपालमा आउने पर्यटकले नेपालको बारेमा गर्ने प्रचारप्रसार र नेपालले पनि आफै गर्ने प्रचार अनि यहाँको गुणस्तरका कारण विश्वले नै नेपाल चिन्ने मन्त्रालयको दावी छ ।  

सांस्कृतिक तथा धार्मिक क्षेत्रको प्रचारप्रसार

पशुपतिनाथको मन्दिरमा मुख्य चाडमा २० लाख भक्तजनले दर्शन गर्नसक्ने गरी बाटो र प्रांगण बनाउने मन्त्रालयको योजना छ । तिलगंगा, गौशला, गुहेश्वरी, गौचरण लगायतका क्षेत्रमा हरियाली पार्क बनाउने र बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढाउने, बृहत् ध्यान केन्द्र बनाउने लगायतका योजना पनि कार्ययोजनामा समेटिएका छन् ।

रामायण ट्रेल सञ्चालन गर्ने तथा मिथिला क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मन्त्रालयको योजना छ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट सर्किटसँग जोड्ने र पर्यटकको संख्या ३ गुणाले बढाउने कार्ययोजनामा उल्लेख छ । 

५ वर्षभित्र भूकम्पबाट क्षति भएका सम्पदाको पुनर्निर्माण सम्पन्न हुने र धार्मिक पर्यटक पनि उल्लेख्य बढ्ने मन्त्रालयको प्रक्षेपण छ । 

नारायणहिटी संग्राहलयको गुरुयोजना पूरा भएर पर्यटक बढ्ने कार्ययोजनामा उल्लेख छ ।  काठमाडौंमा सांस्कृतिक संग्राहलय स्थापना भएर सञ्चालनमा आउने, पाथीभरा, हलेसी, लुम्बिनी लगायका क्षेत्रमा पर्यटकको चहलपहल बढाउने पनि मन्त्रालयको दावी छ । मुक्तिनाथ,त्रिवेणी, देवघाट, स्वर्गद्धारी गायतका क्षेत्रमा भारतीय पर्यटकको संख्या दोब्बर बनाउने पनि मन्त्रालयले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

2 Comments

  • Ram Hari Sharma

    Aug. 2, 2018, 8:11 p.m.

    Very nice plan. Let's contibute to make the plan a success.

  •  0 Reply
  • Ram Hari Sharma

    Aug. 2, 2018, 8:10 p.m.

    Very nice plan. Let's contibute to make the plan a success.

  •  0 Reply

तपाईको प्रतिक्रिया