नेपालका कवितामा श्रीमती र ड्राइभर

 साउन १७, २०७५ शुक्रबार ५:४१:३० | रासस

काठमाडौं -
उनी नहुँदा कोठामा 
हावा पनि निसास्सिएर चल्छ 
एलइडीको उज्यालो पनि अँध्यारो अँध्यारो बल्छ 
ड्रेसिङ टेबुलको अडेसो लागेर 
ऐना उदासी लयमा मलाई हेर्छ 
माहुरीले रानोलाई झैँ 
उनको अनुपस्थितिले मलाई घेर्छ 
र कोठा फगत कोठामा खुम्चिन्छ 
श्रीमतीजी साथै हुँदा 
केही लेख्नुपर्‍यो भनेर म कलम लिएर बसेँ 
पछि उनी माइत गएपछि केही पनि लेखिँदैन 
त्यसो हो र, लेख्नै सकिँदैन । (श्रीमतीजी माइत गएपछि)

कवि गोविन्द नेपालले आज आफ्नी पत्नी माइत गएको वेदना पोखेर नारीशक्तिलाई छर्लङ्गै उजागर गरिदिनुभयो । स्रोताले पहिलो कवितामै वाहवाह गरेपछि यी पुराना कवि झन् झन् हौसिएर ‘सखी फर्कने दिन’ निकै फ¥याकफुरुक गरिरहे । सांस्कृतिक संस्थानले पाँच महिनादेखि गर्दै आएको एकल कविता वाचनअन्तर्गत आज पाँचौँ संस्करणमा नेपाललाई प्रस्तुत गरेको थियो । 

नेपालले ‘आगो’, ‘किस्ने, तिम्रो माया र बाडुली, दुकन्दार, कविता र उद्देश्य, शहर, साहिँलादाइ र लोकल बस, खोला र गीत, भेल, नदी र समुद्र तथा शब्द चित्रमा एक सूर्तीसेवी शीर्षकका कविता वाचन गरे । उहाँलाई किशोर पहाडी, श्रवण मुकारुङ, श्याम रिमाल, छविरमण सिलवाल, प्रोल्लास सिन्धुलीय, प्रकाश गफाडीले वाचनमा सहयोग गर्नुभएको थियो ।

उनका कवितामा नारीसँगको सहकार्य, श्रमको सम्मान, मानिसका वेदना, सहज जीवनयापन, जिन्दगीप्रतिको न्याय जस्ता विषय आएका थिए । पछिल्लो समय इन्टरनेटको दुरुपयोग र मोह जस्तो समयसापेक्ष विषय पनि कवितामा आएको छ जसमा स्टयाटस लाइक गरेकी पत्नीले आफ्नो निधारमा ठोकेको कुरालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्नुभएको थियो । 

विसं २०२६ मा सिन्धुपाल्चोकमा जन्मनुभएका नेपाल हाल जोरपाटीमा बस्नुहुन्छ । उहाँका ‘अक्षर लेख्ने आँगनमा’ कवितासङ्ग्रह, ‘ढुङ्गाको मन’ गजलसङ्ग्रह र फुटकर रुपमा निबन्ध प्रकाशित छन् । 

वाचित कवितामाथि समीक्षा गर्ने क्रममा वासुदेव अधिकारीले नेपालका प्रत्येक कविता सामाजिक संवेदना र दिनदिनै भोगिएका विषय आएको बताउँदै कविको पाठकलाई पनि सँगसँगै लिएर जाने क्षमताको प्रशंसा गर्नुभयो ।

भाषा वैज्ञानिक प्रा डा माधवप्रसाद पोखरेलले साना साना विषयलाई कविता बनाउन सक्ने नेपालको खुबीको प्रशंसा गर्नुभयो । संस्थानका महाप्रबन्धक राजेश थापाले गत वैशाखदेखि महिनादेखि संस्थानमा एकल कविता वाचन, वाद्यवादन, गायन र कविता¬–नाटक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया