कुवेतबाट फर्किएर खरिपाटी क्वरेण्टीनमा रहेका ७ जनामा कोरोना पुष्टि

 असार ६, २०७७ शनिबार २०:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – कुवेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका ७ को खरिपाटी ​क्वरेण्टीनमा रहेका सात महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा आज भक्तपुर भनेर जानकारी दिए पनि सङ्क्रमितहरु भक्तपुरका स्थायी बासिन्दा नभइ क्वरेण्टीनमा बसेका महिलाहरु रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

सङ्क्रमण पुष्टि हुनेहरुमा मोरङकी ४२ र ४१ वर्षीया, कास्कीकी २३ वर्षीया, नवलपरासीकी २९ वर्षीया, झापा, बारा र सुर्खेतकी २८ वर्षीया महिला रहेका छन् । शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश १ र २ का एक सय नौ जनालाई भक्तपुरको होल्डिङ सेन्टरमा नराखी खरिपाटी क्वरेण्टीनमा राखिएको थियो । 

यसअघि गएको बिहीबार खरिपाटी क्वरेण्टीनमा रहेका नवलपुरको गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको त्यही दिन स्वाब सङ्कलन गरिएको थियो । 

सङ्क्रमित प्रहरीको परिवारको कोरोना रिपोर्ट नेगेटिभ 

त्यसैगरी गएको बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका ५ छालिङका प्रहरीको परिवारका सबै सदस्यको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 
महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत सङ्क्रमित प्रहरीको परिवारका आठ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । 
    
त्यसैगरी सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका ३० प्रहरी कर्मचारीमध्ये २१ जनाको रिपोर्ट पनि नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । परिसरका नौ जना प्रहरी र भक्तपुर नपा ५ भोलाछेँका सङ्क्रमित पुरुषका परिवार एवं छिमेकी ११ जनाको भने रिपोर्ट आउन बाँकी छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया