संसदमा बेसार, फेसबुकमा बेसारे

 असार १३, २०७७ शनिबार ८:२९:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

तपाईं फेसबुकमा अरु बेसारे बनेको रमिता मात्रै हेरेर बसिरहनुभएको छ कि आफू पनि बेसारे बनिसक्नुभयो ? बेसारे बन्नुभएको छैन भने बनिहाल्नुहोस् । नत्र तपाईं सोसाइटीमा नपर्ने डर मात्र होइन, धेरै कुरामा पछि पर्नुहुन्छ । 

आफूले बेसारे बनाउन जानेको छैन, बनाएर पठाइदिने कोही छैनन् भनेर पनि चिन्ता नलिनुहोस् । फेसबुक खोल्नुहोस् र भान्साबाट एकमुठी बेसार ल्याएर कम्प्युटर या मोबाइलको स्क्रिनमा दल्नुहोस् । तपाईं पनि उतिखेरै पहेँलपुर बन्नुभयो । बेसारे हुनुभयो ।

यति गरिसकेपछि बल्ल तपाईं सोसाइटीमा पर्नुभयो । अब तपाईंलाई अरुले त के, कोरोनाले पनि छुन सक्दैन । किनकी बेसार देखेपछि कोरोना परैबाट भाग्छ । प्रधानमन्त्रीले मात्र भनेको होइन, फेसबुकेहरुले प्रमाणित गरेर देखाइदिएको । नपत्याए फेसबुकमा बेसारे भएको तपाईंको साथीलाई सोध्नुहोस् त । उ अब कोरोनाले छुँदैन भनेर ढुक्क छ ।

फेसबुकमा बेसारेका थप कुरा गर्नुअघि बेसार र बेसारेकै चर्चा गरौं । बेसार, झट्ट सुन्दा तरकारीमा राख्ने मसला । तर बेसारको खास अर्थ हो, सार नभएको अर्थात फोस्रो र बेकामको । अब यही बेसारमा एउटा एकार झुण्ड्याएर बेसारे बनाउँदा अर्थमा आकाश पातालको फरक पर्छ । बेसारे अर्थात चिप्लो कुरा गरेर रिझाउन सिपालु, लोलोपोतो गर्न जान्ने, चेप्य्राइँ पार्न सक्ने । 

प्रधानमन्त्रीले संसदमा बेसारको चर्चा गर्नुभो । कुरो तरकारीमा राख्ने बेसारको जस्तो सुनिए पनि कुरो बेस्वादिलो र फोस्रो बेसारको थियो । अथवा कुनै सार नभएको, बेकामको । प्रधानमन्त्रीले संसदमा गरेको कुरा बेस्वादको, खल्लो, फोस्रो, सार नभएको, बेकामको बेसारको भए पनि दुनियाँलाई चाहिँ त्यही कुरो स्वादको लाग्यो । प्रधानमन्त्रीले बेसार खानु भनेका थिए । तर मान्छेले दल्नु भन्ने बुझे । त्यसैले अहिले सबैथोक छोडेर फेसबुकमा बेसार दलेर बसेका छन् । प्रधानमन्त्रीको बेसारे कुरा सुनेपछि हामी पनि बेसारे भएका छौं ।

फेसबुकमा पुच्छर समेत झुण्ड्याएर बेसारे भएकाहरुलाई समेत मैले किन यसो गरें भन्ने थाहा छैन भने तपाईंलाई झन् थाहा पत्तो हुने कुरै भएन ।

प्रधानमन्त्रीको समर्थनमा बेसारे भयौं कि बिरोधमा भन्ने पनि थाहा छैन । यसले पनि पहेंलो घसेको छ, उसले पनि पहेंलो घसेको छ । प्रधानमन्त्रीको बिरोध गर्ने पनि बेसारे भएको छ, प्रधानमन्त्रीको जयजयकार गर्ने पनि बेसारे भएको छ । नेता पनि बेसारे, नेताको बिरोध गर्ने पनि बेसारे । भएको किन हो थाहा छैन, तै पनि उ बेसारे भएको छ । अब त डाक्टर समेत झुक्किने भएका छन् मान्छे बेसारे भएको हो कि जण्डिस लागेको भनेर । 

कसैले त फेसबुकको बेसारे फोटोमा नाग र नागिनीजस्तो पुच्छर पनि तानेका छन् । बेसारे फोटोमा नाग र नागिनीको जस्तो पुच्छरसमेत झुण्ड्याएपछि झन् के हुन्छ भन्ने तपाईंलाई खसखस लागेको होला । तर फेसबुकमा पुच्छर समेत झुण्ड्याएर बेसारे भएकाहरुलाई समेत मैले किन यसो गरें भन्ने थाहा छैन भने तपाईंलाई झन् थाहा पत्तो हुने कुरै भएन ।

सबै कुरा के हो भनेर ठम्याउन कसैले नसके पनि बेसारे भएपछि केही फाइदा चाहिँ पक्कै छन् । सके आफ्नै ज्यानमा, नसके फेसबुकको फोटोमा मात्रै भए पनि पहेंलो दलेमा कोरोनाले छुन सक्दैन भन्ने कुरा त भनिसकियो । 
अर्को महत्वपूर्ण कुरा बेसारे भएपछि तपाईं पहिलेभन्दा झन् राम्रो बन्नुभयो । कसरी भन्नुहोला । ल सुन्नुहोस् । आफू जतिसुकै नराम्रो भए पनि मान्छेलाई आफूजस्तो राम्रो अरु कोही छैन जस्तो लाग्छ ।

त्यसमाथि फेसबुकमा त जतिसकेको राम्रो फोटो राखेका हुन्छन् । कहिलेकाहीँ फेसबुकमा राखेको फोटोसँग आफ्नो फेस पनि मिलेको हुँदैन । बेसारे फोटो थाहा नहुँदासम्म फेसबुककै फोटो राम्रो लागेको थियो । तर बेसारे फोटोको लहर आएपछि थाहा भयो, प्रोफाइल पिक्चरमा बेसार दलेपछि झन् राम्रो देखिनेरैछ । पहेंलो न पहेंलो, चहकिलो न चहकिलो । आफ्नो खास अनुहारभन्दा १० गुणा राम्रो फोटो हुने भएकाले बेसारे बन्नुको फाइदा छ ।

पहेंलो बन्नुहोस् । बेसारे हुनुहोस् । जमाना बेसार र बेसारेको हो । बेसार अर्थात फोस्रो र बेकामको ।

अर्को महत्वपूर्ण कुरा, हिजोआज जहाँ जसरी हुन्छ सोसाइटीमा पर्ने फेसन चलेको छ । एमसीसी भनेको के हो भन्ने थाहा नभए पनि यसबारे कसैले बिरोध गर्यो भने आफूले पनि बिरोध गर्नुपर्छ । नत्र सोसाइटीमा परिंदैन ।

बालुवाटार र माइतीघरमा केटा हेर्न आएको, केटी हेर्न आएको, घर बस्दाबस्दा दिक्क लागेर सडक हेर्न आएको भन्दै कसैले प्रदर्शन गरे पनि यस्तै गर्नुपर्ने रहेछ भनेर साथ दिनुपर्छ । नत्र सोसाइटीमा परिंदैन । त्यसैले फेसबुकमा बेसारे फोटो किन राखिन्छ भन्ने थाहा नभए पनि आफूले पनि त्यसै गर्नुपर्छ । नत्र सोसाइटीमा परिंदैन ।

त्यसैले पहेंलो बन्नुहोस् । बेसारे हुनुहोस् । जमाना बेसार र बेसारेको हो । बेसार अर्थात फोस्रो र बेकामको । बेसारे अर्थात लोलोपोतो, चेप्य्राइँ !

अन्तिम अपडेट: बैशाख ७, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया