समस्यामा परेका नेपाली लिन जहाज कतार र मलेसिया उड्दै, अहिलेसम्म ११ हजारभन्दा धेरै स्वदेश आइपुगे

 असार १४, २०७७ आइतबार १८:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार र मलेसियामा रहेका नेपाली लिन आज राति तीन वटा जहाज त्यसतर्फ जाने भएका छन् । हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सको चार्टर्ड जहाज नेपाली लिन मलेसियाको क्लालाम्पुर तथा नेपाल एअरलाइन्सको जहाज कतारको दोहा जाने तालिका रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । 

दोहा र मलेसियाबाट  नेपाल एअरलाइन्सको चार्टर्ड जहाज नेपाली लिएर भोलि बिहान काठमाण्डौ आइपुग्नेछ भने मलेसियाबाट अर्को जहाज दिउँसो आइपुग्नेछ । यस्तै भोलि कुवेतबाट आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कनेछन् । कुवेत सरकारले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आममाफीमा सहभागी नेपालीलाई काठमाण्डौसम्म ल्याइदिनेछ । 

भोलि हिमालय र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज ६ ठाउँमा नेपाली लिन जाने भएका छन् । नेपाल एअरलाइन्सका चार जहाज कतारको दोहा, मलेसियाको क्लालाम्पुर, यूएईको दुबई र कुवेत जाने त्रिभुवन विमानस्थलले जनाएको छ । हिमालय एअरलाइन्सका जहाज साउदीको दमाम र छाङ्सा जानेछन् । 

अहिलेसम्म फर्किए ११ हजारभन्दा धेरै नेपाली

शनिबारसम्ममा विभिन्न देशबाट ११ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् । सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु गरेपछि चार्टर्ड उडानमार्फत ११ हजार ३ सय ७१ जना नेपाली स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो ।

कोरोनाको कारण रोजगारी गुमाएका, समस्यामा परेका, बिरामी, गर्भवती, ज्येष्ठ नागरिक, भिसा सकिएका लगायतका प्राथमिकता छुट्टाएर नेपालीलाई स्वदेश ल्याउने काम भइरहेको छ । यो निरन्तर प्रक्रिया भएको र समस्यामा परेकालाई ल्याउने क्रम चलिरहेको प्रवक्ता पौडेलले बताउनुभयो । 

शनिबारसम्म कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । यस्तै यूएईबाट २ हजार १७, साउदी अरेबियाबाट १२ सय १८, मलेसियाबाट ९२१, बङ्गलादेशबाट ८१५, कतारबाट ६३८, माल्दिभ्सबाट ६०४, जापानबाट ४९२, अस्ट्रेलियाबाट २६९, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३ नेपाली स्वदेश फर्किएका गैरआवसीय नेपाली संघ एनआरएनएले जनाएको छ । 

एनआरएनएका अनुसार अमेरिकाबाट ४८३, दक्षिण कोरियाबट २२८, सिङ्गापुरबाट १४६, बेलायतबाट २२९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६,  अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना नेपाली स्वदेश फर्किएका हुन् ।

खाडी र मलेसियाबाट ८७ शव पनि आए

नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड जहाज उड्न थालेपछि खाडी र मलेसियामा रोकिएका ८७ शव स्वदेश ल्याइएको छ । अहिलेसम्म सबैभन्दा धेरै शव मलेसियाबाट ल्याइएको छ । मलेसियाबाट ३१ वटा शव ल्याइएको छ । मलेसियापछि साउदी र कतारबाट २०, २० वटा शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कुवेतबाट ७ जना नेपालीको शव आएको छ भने यूएईबाट पाँच नेपालीको शव ल्याइएको बोर्डले जनाएको छ । बोर्डकाअनुसार बहराइनबाट ३ जना नेपालीको शव ल्याइएको छ भने ओमानबाट १ जना नेपालीको शव ल्याइएको छ।

यो अवधिमा विदेशमा ज्यान गुमाएका ३ सय ३३ जनामध्ये १२६ जनाका परिवारले भने गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको हुँदा उतै सदगत गरिएको छ । अझै विदेशमा १२० नेपालीको शव बाँकी छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया