नागरिकका गुनासा आफैले टेलिफोन उठाएर सुन्छन् उर्जामन्त्री

 साउन १८, २०७५ शुक्रबार १६:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नागरिकको गुनासो तत्काल सुनुवाइ गर्न टेलिफोन संवाद कार्यक्रम सुरु गर्नु भएको छ । 

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुनले शुक्रबारबाट सिधै नागरिकको गुनासो सुनुवाइ गर्न मन्त्रालयबाटै टेलिफोन संवाद गर्न सुरु गर्नु भएको हो । 

त्यस अवसरमा उहाँले देशका विभिन्न भागका नागरिकको गुनासो सुनुवाइ गर्दै जलविद्युत आयोजनाको परिचालनबाट सबै भेगका नागरिकलाई समृद्ध बनाउने योजना अघि सार्नु भयो । मन्त्री पुनले हिमाल, पहाड र तराईका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउन सरकारले झण्डै ३ हजार ५ सय मेगावाट क्षमताको १६ वटा जलविद्युत आयोजना छनौट गरेको उल्लेख गर्दै त्यसले जनतालाई समृद्ध बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो । 

उहाँले विद्युत आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणलाई चुस्त बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो । मन्त्री पुनले विद्युत महशुल उठाउने विषयलाई सहज बनाउन थप गृहकार्य गर्ने आश्वासन पनि दिनु भएको थियो ।

मन्त्री पुनसँग सेवाग्राहीहरुले जलविद्युत क्षेत्रको विकासमार्फत् जनतालाई समृद्ध बनाउने योजना के छ भनि टेलिफोनमार्फत जिज्ञासा राखेका थिए । 

यता, मन्त्री पुनले मुलुकलाई एकतावद्ध बनाउन पनि सबै क्षेत्रको जनताको सहभागितामा जलविद्युत आयोजना निर्माणको काम अघि बढाउने योजना अघि सारेको जवाफ दिनु भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया