वैशाखदेखि अहिलेसम्म ८ सय भन्दा धेरै विपद्का घटना, १ सय ४ जनाको ज्यान गयो ।

 असार २५, २०७७ बिहिबार ७:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वैशाखदेखि अहिलेसम्म ८ सय भन्दा धेरै विपद्का घटना भएका छन् । वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटनामा १ सय ४ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

त्यस्तै ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् । विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६ सय परिवार प्रभावित भएका छन् ।

दुई हजार ५ सय १५ घरमा आंशिक र २ सय ४५ घर पूर्ण क्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । यी विपद्मा झण्डै ४३ करोड रुपैयाँ बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वैशाखदेखि अहिलेसम्म १ सय ५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको ज्यान गएको र १ सय ६१ जना घाइते भएका छन् । आगलागीका ३ सय ३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका छन् । त्यस्तै २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको ज्यान गएको छ ।

बाढीका २३ वटा घटना भएको र चार जनाको ज्यान गएको तथा एक जना वेपत्ता छन् । देशका विभिन्न ठाउँमा तीन महिनामा १ सय ७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया