बलिउडमा आमीरका तीन दशक : छोटियो नाम लम्बियो कद

 बैशाख १९, २०७५ बुधबार ११:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख १८ – मोहम्मद आमीर हुसेन खान जुन नाम हिन्दी चलचित्र उद्योग बलिउडमा आमीर खानका रुपमा छोटो मीठो बन्यो । वलिउडमा उनको नाम छोट्टियो तर परिचयको उचाइ भने झन् झन् अग्लिंदै गयो । अझ, उनी जति–जति जीवन र अभियनको उत्तरार्धको उकालो चढिरहेका छन् उति–उति गज्जबका विषय उठाइरहेका छन् । 

कथावस्तुको छनोट तथा अभिनयका कारण मिष्टर परफेक्सनिष्टको परिचय बनाएका आमिरको बलिउड यात्रा चौथो दशकमा प्रवेश गरेको छ ।

सन् १९६५ को मार्च १४ तारिखमा जन्मिएका आमिरले सन् १९८८ मा ‘कयामत से कयामत तक’ बाट बलिउडमा डेब्यू गरेका हुन् । चलचित्र क्षेत्रमा ३० वर्ष पूरा गरेको खुशीमा आमीरले इन्ष्टाग्राम र ट्वीटरमा लेखेका छन् ‘३० वर्ष पूरा भएको विश्वास नै लागिरहेको छैन, यस्तो लाग्दैछ, यो कुरा हिजोको हो ।’ यससँगै उनले आफ्नो अभिनय यात्राको पहिलो फिल्म कयामत से कयामत तकको फोटो पनि राखेका छन् ।

आमिरले सन् १९८० र ९० को दशकमा फिल्म ‘जो जिता वहि सिकन्दर’, ‘दिल हे कि मानता नही’, ‘रंगिला’, ‘हम हे राहि प्यार के’लगायत धेरै सफल चलचित्र अभिनय गरेका छन् । आमिरको सन १९९० को चलचित्र ‘दिल’ त्यसबेला सर्वाधिक कमाई गर्ने चलचित्र बनेको थियो ।

चलचित्र राजा हिन्दुस्तानीले आमिरलाई पहिलोपटक फिल्मफेयर अवार्ड दिलाएको थियो । पछिल्ला वर्षहरुमा आमिर चलचित्रसँग सम्बन्धित अवार्ड वितरण कार्यक्रममा जाँदैनन् । उनलाई भारत सरकारले पद्म श्री र पद्मभुषण पदकबाट सम्मान गरेको छ । यस्तै, चीन सरकारले पनि मानर्थ पदवीबाट सम्मान गरेको छ ।

आफ्नै कम्पनी 

एक दशकको चलचित्र अनुभव पूरा भएपछि आमीरले आफ्नै नामको आमिर खान प्रोडक्शन कम्पनी खोलेका थिए । उनको प्रोडक्शन कम्पनीको निर्माणमा बनेको पहिलो फिल्म ‘लगान’बाट निर्माताको रुपमा काम सुरु गरेका आमिरले अहिलेसम्म कयौं सफल र सन्देशमूलक चलचित्र दिएका छन् । आफ्नो निर्माण कम्पनीमार्फत आमीरले चलचित्रमा आफ्नो धारलाई केही परिवर्तन गरे । रोमाण्टिक अभिनेताबाट उनी गम्भिर र सन्देश दिने खालको विषयबस्तु उठाउने अभिनेता र निर्माता बन्न पुगे । 

उनको निर्माण कम्पनीले बनाएका कुनै पनि चलचित्र असफल वा लगानी उठाउन नसक्ने भएनन् । बरु हरेक चलचित्रले कुनै न कुनै सन्देश दियो, दिइरहेको छ । महत्वपूर्ण विषय उठायो र समाजका लागि महत्वपूर्ण भएर पनि छायामा पारिएका तथा वेवास्ता गरिएका विषयमा सोच्न मात्र होइन पटक–पटक घोत्लिन बाध्य बनायो । 

यो यस्तो उपलब्धी हो जुन कुनै पनि प्रोडक्शन कम्पनीले हासिल गर्न सकेका छैनन् । आमिरले ‘पिपली लाइव’, ‘तलाश’, ‘तारे जमिन पर’, ‘दंगल’ तथा ‘सीक्रेट सुपरस्टार जस्ता सुपरहिट फिल्मको निर्माण गरेका छन् । 

आमीर खानले थ्री इडियट, पीके जस्ता चलचित्रमा पनि अभिनय गरे । तर ती चलचित्रको निर्माण भने उनको कम्पनीले गरेको थिएन । 

आमीरले पछिल्लो पटक ठग्स अफ हिन्दुस्तानमा अभियन गरेका छन् । यसराज फिल्म्सको ब्यानरमा बनेको ठग्स अफ हिन्दुस्तान यसैवर्ष प्रदर्शनमा आउँदैछ । यसमा उनको अभिनयले पनि तहल्का मच्चाउने अपेक्षा उनको फ्यानहरुले गरेका छन् ।

यसबीचमा उनले टेलिभिजनको पर्दाबाट पनि महत्वपूर्ण विषयको उठान गरे । उनको टेलिभिजन कार्यक्रम सत्यमेव जयतेले छोटो समयमा करोडौं दर्शकको मन मात्र जितेन वेवास्ता गरिएका धेरै सामाजिक विषयलाई मूलधारमा ल्याउन प्रेरित पनि गर्यो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया