पहिलो पटक एन्फा मैदानमा पाइला टेक्दा...

 साउन १९, २०७५ शनिवार १३:३३:१६ | रमा खड्का
unn.prixa.net

खेलकुदमा सानैदेखि रुची भए पनि खेल्ने र खेलाडी बन्ने त्यो अवसर र वातावरण मेरा लागि खासै जुटेन । त्यो अवसर र वातावरण स्कुल पढ्दादेखि नै हुनुपर्ने हो ।

तर जुटेन भनौं मेरा लागि । उसो त म, नेपालको दुर्गम र पिछडिएको क्षेत्र भनेर चिनिने बाजुरा जिल्ला र त्यसमा पनि अलि दुर्गम गाउँमा जन्मिएर पनि होला खेलको महत्व र यसप्रतिको रुची कम भएको । स्कुलको वार्षिकोत्सवदेखि अन्य छिटपुट रुपमा हुने खेलकुद क्रियाकलापमा लहलहैमा सहभागी भइन्थ्यो । त्यो पनि कबड्डी, दौड, चियर गेम यस्तै यस्तै । फुटबल र क्रिकेट त थाहा नै थिएन, किताबमा मात्रै पढिन्थ्यो । 

अन्य खेलको तुलनामा पहाडतिर बढी भलिबल खेल खेलिन्छ । ठूलाठूला म्याचहरु हुन्छन् अहिले पनि । पछिल्लो समय भलिबलसँगै फुटबल र क्रिकेटप्रति गाउँगाउँमा क्रेज बढ्दो छ । पहाडमा स–साना खेतका गह्राहरुमा केटाकेटीहरु मोजाको बल र काठको चिरपटले महेन्द्रसिंह धोनी, विराट कोहली, पारस खड्का, सोमपाल कामी, सन्दीप लामिछाने भन्दै क्रिकेट खेलिरहेका हुन्छन् ।

यस्तै फुटबलमा पेले, रोनाल्डो र मेस्सी भन्दै फुटेको भलिबल सिलाएर त्यसभित्र धानको भुस हालेर खेलेकै हुन्छन् । फुटबलमा नेपाली खेलाडीको झट्ट नाम सम्झिन मलाई त गाह्रो छ, ती केटाकेटीहरुलाई के थाहा र ? नेपाली फुटबंलमा सधैँ भइरहेको राजनीति र अन्य विवादहरुले नेपाली फुटबल थला परेको धेरै भयो । जे होस् गाउँघरमा खेलप्रति बाल्य अवस्थादेखि नै रुची बढ्नु राम्रो हो ।

खेलमा भलिबल, कबड्डी, चेयर गेम र रुमाल चोरबाहेक अन्य धेरै कुरा थाहा नभएकी म जब रेडियो यात्रामा जोडिन पुगें, तब खेलका बारेमा केही बुझ्न थालें । रेडियोमा मेरो कार्यक्षेत्र कार्यक्रमसँगै समाचार शाखा भए पनि खेल भने मुख्य बिट होइन । तर, मोफसलका रेडियोकर्मी सबै अलराउण्डर नै हुन्छन् समाचारका हरेक बिटहरुमा ।

यसरी नै रेडियोमा काम गर्दागर्दै एक दशक बितेको पत्तै भएन । यहीबीचमा फुटबलको नौलो अनुभव लिने मौका पाइयो । गएको साउन १२ गते सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) को फुटबल खेल मैदानमा ।

एन्फा मैदानको अनुभव

दिउँसोको २ बज्नै लागेको थियो । हामी ४ जनाको टोली सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा पुग्यौं । खेल ४ बजेदेखि भए पनि हामीभन्दा अगाडि नै केही साथीहरु पुगिसक्नुभएको थियो । हामी पुग्दा  मैदानमा केही पुरुष साथीहरु फुटबल खेलिरहेका थिए ।

मलाई थाहा थियो (एन्फा) मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता र प्रशिक्षण हुन्छ भनेर । पहिलोचोटी त्यति ठूलो मैदान देख्दा कसरी खेल्ने होला भनेर मनमा अनेक प्रश्न उब्जिए । यत्रो मैदानमा कसरी दगुर्ने होला, एक छेउबाट अर्को छेउका साथीलाई बल कसरी पुर्याउने होला भन्ने खुल्दुली भयो । मैदान उत्रेको अनुभव पहिलो मेरो लागि पहिलो थियो । जसरी महिला पत्रकारहरुको फुटबल प्रतियोगिताले एक इतिहास रच्दै थियो ।

नेपाल पत्रकार महासंघको महिला समितिले पहिलो पटक ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरेकाले मन प्रसन्न थियो ।

एन्फा मैदानमा महिला पत्रकार जर्सीमा उत्रिँदा

खेल हेर्ने दर्शकहरु र महिला पत्रकारको बाक्लो उपस्थिति हेर्दा लाग्थ्यो, ‘साँच्चिकै कुनै राष्ट्रिय, अन्तर्राष्ष्ट्रिय प्रतियोगिता हुँदैछ यहाँ ।’ जब महिला पत्रकारहरु रङ्गीचंगी जर्सीमा एन्फा मैदान उत्रे, तब मौसमले पनि गज्जबले साथ दियो । आकाश, उघ्रियो अनि त क्या रमाइलो !

पहिलो खेल रेडियो र प्रिन्ट मिडियाबीच भयो । त्यसमा प्रिन्टले दुई गोल हान्यो भने रेडियोले एक गोल । दोस्रो खेलमा टेलिभिजन र अनलाइनले खेलेका थिए । त्यसमा अनलाइनले जित्यो ।

फेरि तेस्रोको लागि टिभी र रेडियो खेले, तर समय अभावले दुवैलाई तेस्रो नै घोषणा गरिदियो आयोजकले । अन्तिममा राति ७ बजेतिर फाइनल खेल भयो अनलाइन र प्रिन्ट मेडियाबीच । तर ‘अँध्यारोमा लाको माया कालो छौ की गोरो’ भन्ने गीतजस्तै खेल हुन पुग्यो । न त बल नै देखिने, न त मैदानमा आफ्नो टिमको साथी नै चिनिने । उताबाट आयोजकले ‘ए गोल भयो कि भएन ?’ भनेर माइकमा सोध्ने गर्थे  ।

आयोजकलाई जसरी पनि प्रतियोगिता सफल भएको देखाउनु थियो । खेलको पूरै समय नै नखेलाई बीचमै पेनाल्टीबाट फाइनल खेल टुङ्ग्याउने निधो भयो र खेल पेनाल्टीमा गयो । यति गर्दासम्म साढे ७ बजिसकेको थियो ।

दर्शक र पत्रकारहरु भने मोबाइलको उज्यालो बालेरै भए पनि खेल हेरिरहेका थिए । म त झन् खेल नसकिँदासम्म घर फर्किने कुरै भएन, पहिलो पटक एन्फा मैदानमा फुटबल खेलेको नसा जो लागेको थियो ।

झमक्क साँझ परिसक्दा दुवैतिरका खेलाडीले छामछुम गर्दै, आँखा तन्काएर गोलकीपर छकाउने दाउमा गोलपोष्टमा पालैपालो पाँच जनाले बल हाने । कसैले हानेको बल त गोलपोष्टको किनारा पनि छोएन, अँध्यारोले नदेखेका कारण ।

अन्ततः प्रिन्ट मिडिया महिला पत्रकारको टिमले यो ऐतिहासिक फुटबल प्रतियोगिताको ट्रफी उचाल्यो । नेपाल पत्रकार महासंघको महिला समितिले पनि आफ्नो राम्रै इतिहास रच्यो ।

आयोजकको कमजोरी र खेलाडीको गुनासो

प्रतियोगिता हुनु आफैंमा राम्रो काम थियो । सधैँ समाचारका लागि फिल्ड र डेस्कमा ब्यस्त पत्रकारहरुले एकदिन भए पनि खेलका माध्यमबाट रमाइलो गरे । एकै ठाउँमा पत्रकारहरुको जमघट भयो ।

तर, यो प्रतियोगितालाई साँच्चिकै ऐतिहासिक बनाउनका लागि थप केही प्राविधिक र व्यवस्थापकीय पक्ष बलियो नहुँदा केहीबेर निराश हुनुपर्यो । विवाद पनि भयो ।  
एक त चारवटा टिमलाई खेलाउने भैसकेपछि खेल अवधिको समय ख्याल गर्नु पथ्र्यो । मन्त्री बोलाएर उद्घाटन गराइने प्रतियोगिता समयमा नै सुरु गर्नुपथ्र्यो । खेलकुदमन्त्रीको पर्खाइमा आयोजकले धेरै समय त्यसै खेर फाले ।

प्रतियोगिता हुँदैछ भन्ने सुन्दा र सुरुमा खेल्दा जुन उत्साह थियो, तर त्योे उत्साह खेल समाप्ती हुँदा राति आठ बज्नै लाग्दा निराशा र मतभेदमा परिणत भयो । खेलाडीहरुमा यतिसम्म निराशा देखियो कि आयोजकले आफूखुशी उत्कृष्ट खेलाडी, किपर घोषणा गर्यो भन्ने । यसरी उत्कृष्ट खेलाडी घोषणा, किपर, अनुशासित खेलाडी, बढी गोलकर्ता आदि कुरामा निर्णय गर्न एक छुट्टै स्वतन्त्र टिम हुन्छ भन्ने सामान्य खेल बुझेकाले पनि थाहा पाउने कुरा हो, तर त्यो त्यहाँ देखिएन । 

समयको अभाव भएका कारण खेलाडीहरुले मैदानमा पूरै समय खेल्न पाउने स्थिति नै रहेन । हतारहतारमा खेलाडी परिवर्तन गर्दा खेलाडी र टिम व्यवस्थापकबीच एकछिन भनाभन समेत भयो । यतिसम्म कि मन्त्रीले दिएको नगद सहयोग दश हजार रुपैयाँमा पनि खेलाडी र आयोजकबीच किचलो भयो ।

मन्त्रीले पहिलो गोल गर्नेलाई त्यो सहयोग रकम दिएका हुन् कि कोषलाई अथवा पत्रकार महासंघको महिला समितिलाई दिएका हुन भन्ने कुरा नै प्रष्ट नुहँदा यसले पनि तनाव गर्यो । जेहोस् यसरी केन्द्रमा आयोजना गरिएको यस्तो प्रतियोगिता आफंमा महत्वपूर्ण हो ।

यदि यो प्रतियोगिता पत्रकारहरुले आयोजना नगरेर अरुकै आयोजना र सहभागिता पनि अरुकै भएको भए हामी पत्रकाहरुले आफ्ना मिडियामा यसको समाचार कसरी लेख्थ्यौं होला ? भन्नैपर्दा त्यो राम्रो मसलादार समाचार हुन्थ्यो ।

अन्त्यमा....

सबै क्षेत्रमा सबै व्यक्ति विज्ञ र अनुभवी हुन्छन् भन्ने होइन । केही कमी कमजोरी महिला पत्रकार फुटबल प्रतियोगिताका आयोजकका पनि थिए होलान् ।  केही कमजोरी हामी खेलाडीहरुका पनि, केही मौसम र समय त्यस्तै थियो होला ।

तर, दुवैका लागि यो ऐतिहासिक क्षण भने पक्कै थियो । सामान्य कमी कमजोरीलाई मुद्धा बनाएर हामी महिला पत्रकारभित्र राजनीति गर्ने र मनोबल गिराउने काम कतैबाट हुनु हुँदैन । 
 

अन्तिम अपडेट: भदौ २७, २०७५

तपाईको प्रतिक्रिया