कालाेपत्रे गरेको एक सातामै उप्कियो राजपुर सडक

 साउन १९, २०७५ शनिबार १४:०:२ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल राजपुरमा कालाेपत्रे सडक गरिएको एक हप्तामै उप्किएको छ ।

दिपायलको राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरको मूल गेटसम्म कालाेपत्रे गरिएको सडक साता नबित्दै उप्किएर हिलाम्मे हुन थालेको छ । 

रकम सक्नका लागि कालाेपत्रे गरिएको सडक उप्किएर हिलाम्मे हुन थालेपछि यातायातका साधन तथा स्थानीयलाई हिँड्नमा समस्या उत्पन्न भएको छ ।

धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालको टेण्डर अनुसार त्रिशक्ती कन्ट्रक्सनले उक्त सडक गएको केही दिन पहिले कालाेपत्रे गरेको हो । 

१२ सय मिटर सडक कालाेपत्रे गर्न एक करोड २७ लाखमा ठेक्का स्वीकृत भएको थियो । 

जेठ मसान्तमा काम सक्नेगरी सम्झौता भएको उक्त सडक हाल आएर कालाेपत्रे गरिएको स्थानियबासी लालबहादुर धामीले बताउनुभयो । 

‘असार मसान्त सम्म समयसीमा तोकिएपनि वर्षायाममा गरिएको कालाेपत्रे गुणस्तरको नहुने भएकाले जेठ  १५ भित्र काम सक्न निर्देशन दिइएको थियो’ धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयका प्रमुख इञ्जिनियर राजेन्द्र शाहले भन्नु भयो, ‘हामीले जेठ १५ मै काम सक्न लिखित पत्राचार समेत गरेका थियाैं,किन अहिले आएर कालाेपत्रे गरे हामीलाई पनि थाहा छैन ।’ 

कालाेपत्रे सडकको मापदण्ड अनुसार नबनेको स्थानीयको आरोप छ ।

सडकको चौडाई ७ मिटर हुनुपर्ने भनि लिखित सम्झौता भए पनि तोकिए अनुसारको चौडाई नपुगेको स्थानीयको दावी छ । 

सडकमा इष्टिमेट अनुसारको काम नभएकाले आफुले रकम भुक्तानीका लागि सिफारिस नगर्ने दिपायल सिलगढी नगरपालिका वडा न–४ का वडाध्यक्ष विरेन्द्र शाहले बताउनुभयो ।

धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयले सुरुमा सडक निर्माण कम्पनीलाई ५० लाख भुक्तानी दिएको इन्जिनियर शाहले बताउनुभयो । 

इन्जिनियर शाहले थप्नुभयो ‘काम हेरेर इष्टिमेट अनुसारका काम गराएर मात्रै भुक्तानी दिन्छाैं,नत्र भुक्तानी रोकिने छ ।’ 
 

अन्तिम अपडेट: चैत २०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया