मोबाइल र इन्टरनेटबाट बच्चाहरुलाई सुरक्षित बनाउने उपाय

 असार २७, २०७७ शनिबार ११:४१:२९ | अनिल रघुवंशी
unn.prixa.net

काठमाण्डाै – मोबाइल फोन र इन्टरनेट सबैभन्दा उपयोगी र राम्रो प्रविधि हो । यसले राम्रो पनि गर्छ, नराम्रो पनि । अहिले गुगल र यूट्युबमा नराम्रा कुराहरु पनि उत्तिकै पाइन्छन् । जुन हेर्दा बच्चाहरुलाई फाइदा हुँदैन ।

बच्चाहरुको हकमा कुरा गर्दा मोबाइल र इन्टरनेटलाई सुरक्षित बनाउन अथवा अझ इन्टरनेटबाट हुने राम्रा कुराहरुको ज्ञान लिनका लागि सबैभन्दा पहिले इन्टरनेटबाट हुने खराब कुराहरुबारे अभिभावकले ख्याल गर्नुपर्छ । खराब कुराहरु थाहा पाइसकेपछि बच्चाहरुसँग कुरा गर्ने, इन्टरनेट र मोबाइल फोन चलाउँदा कसरी सुरक्षित रहन सकिन्छ भन्नेबारे जानकारी गराउनुपर्छ । 

बच्चाहरुको लागि अलग्गै साइट

गुगलले बच्चाहरुको लागि अलग्गै साइट बनाइदिएको छ । किडल नामक साइटमा (www.kiddle.co) बच्चाहरुलाई काम लाग्ने रमाइला र ज्ञानवर्धक कुराहरु सहजै  पाउन सकिन्छ ।

त्यस्तै यूट्युब प्रयोग गर्ने बेलामा पनि ‘यूट्युब किड्स’(www.youtubekids.com) नामको साइट हेर्न सकिन्छ । यसमा बच्चाका लागि कार्टुन, कथा र रमाइला सिनेमाहरु राखिएको छ । 

अरु शिक्षावर्ध, रमाइला र बच्चाहरुलाई मिल्नेखालका साइटहरु के के छन् भन्ने कुराहरु पनि बच्चालाई सिकाउँदा राम्रो हुन्छ ।  बच्चालाई यो नगर्नु, त्यो नगर्नु भन्दा पनि के गर्दा राम्रो हुन्छ ? भन्ने कुराहरु आफूले पनि जान्ने र बच्चाहरुलाई पनि सिकाउने गर्नुपर्छ ।  सुरक्षित इन्टरनेट प्रयोग गर्दा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा बच्चाहरुलाई जानकारी गराउनुपर्छ । 

बच्चालाई यसो गर्नुहोस्

१३ वर्षभन्दा मुनिका बालबालिकाले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर त चलाउन हुँदैन । अभिभावककै अकाउण्टबाट पनि बच्चाहरुलाई फेसबुक चलाउन दिनुहुँदैन । 

अभिभावकहरुले पनि बच्चाहरुसँग बसेर के कस्तो गरिरहेका छन् भनी हेर्ने, बच्चाहरुले गरेको कुराकानीमा छलफल गर्ने गर्दा बच्चाहरु खुसी हुन्छन् । साथै, उनीहरुको हौसला पनि बढ्छ । र, अभिभावकलाई पनि बच्चाहरुले गरेको कुरा थाहा हुन्छ । 

तर, अलि ठूला उमेरका बच्चाहरुको विषयमा भने उनीहरु के गर्छन्, कसो गर्छन् भनेर सबै जासुसी गर्ने खालको व्यवहार गर्नु हुँदैन । उनीहरुको पनि आफ्नो गोपनियता हुन्छ । यस्तो कुराहरु उनीहरुले मन पराउँदैनन् । तर, के गर्छन् भन्ने कुराको सामान्य जानकारी राख्नैपर्छ।

​अभिभावकले इन्टरनेट चलाउने, मोबाइल चलाउने मात्र नभएर अरु बच्चाहरुसँग समय बिताउने गर्नुपर्छ । अफलाइनमा समय बिताउने अथवा इन्टरनेट, मोबाइल नचलाइकन बिताउने समयको बारेमा पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ ।  जस्तै बच्चाहरुसँग बसेर घरको काम गर्ने, रमाइलो गर्ने, घर सफा गर्ने यसमा सानो बच्चाहरुले पनि सहयोग गर्न सक्छन् ।

कसैले खाना पकाउने,  कसैले बारीमा काम गर्दै बोटबिरुवामा पनि राख्दै पनि बच्चाहरुसँग समय बिताउन सकिन्छ ।  यतिमात्र हैन बच्चाहरुसँग खेल्ने धेरै बाटाहरु छन् । काममा बच्चाको मन लागेन भने उनीहरुसँग खेलेर, संगीतमा अथवा चित्रकला बनाउने, कथा भन्ने गर्यो भने मोबाइलभन्दा पनि अन्त रमाइलो संसार छ है भन्ने बच्चाहरुले थाहा पाउँछन्, र बच्चाहरुसँगको सम्बन्ध राम्रो पनि हुन्छ ।

 त्यसैले, अभिभावकहरुले बच्चाहरुसँग सकेसम्म धेरै समय बिताउने गर्नुपर्छ । अनलाइनमा मात्र हैन, अफलाइनमा पनि । अभिभावक आफैंले पनि कम मोबाइल चलाउनुपर्छ ।

अभिभावकले बच्चाहरुको अगाडि जे देखायो, जे गर्यो बच्चाहरुले त्यही सिक्ने हो । अभिभावकहरुको राम्रो बानी व्यवहार छ भने बच्चाहरुले पनि त्यही सिक्ने भएकाले बच्चाहरुको अगाडि बस्दा इन्टरनेट धेरै नचलाउने र उनीहरुसँग समय बिताउने गर्नुपर्छ ।  

बलियो पासवर्ड राखौँ

अभिभावक वा बालबालिका सबैले आफ्नो सामाजिक सञ्जालको पासवर्डलाई एकदमै बलियो र सुरक्षित रुपमा राख्नुपर्ने हुन्छ । पासवर्ड कसैलाई पनि दिनु हुँदैन । साना बच्चाहरु छन भने त अभिभावकलाई दिँदा हुन्छ तर, अलि ठूला बच्चाहरु छन् भने अभिभावक र साथीहरुलाई पनि  दिनु हुँदैन  । 

अर्को कुरा पासवर्ड राख्ने बेला कस्तो राख्ने भन्नेबारे अभिभावकले पनि जान्न आवश्यक छ । सुरक्षित पासवर्डको लागि कमसेकम आठवटा संख्या अथवा अंक अक्षर र सिम्बोल राखेर बनाउनुपर्ने हुन्छ । यी सबै कुरा मिलाएर राखेको पासवर्ड अरुले पत्ता लगाउन सक्दैन । र, यो पासवर्ड एउटामा राखेको अर्कोमा राख्न हुँदैन । फरक फरक राख्नुपर्छ । र बेलाबेलामा फेर्नुपर्छ । 

अर्को कुरा अरुलाई आफ्नो घरको ठेगाना, इमेल, निजी फोटो, भिडियो नचिनेको मान्छेलाई सार्वजनिक रुपमा भन्नु पनि हुँदैन । अभिभावकले पनि बच्चाहरुको फोटो भिडियो राख्नु हुँदैन । यसमा अभिभावक पनि चनाखो हुनुपर्ने हुन्छ ।

बालबालिकाले पनि ध्यान दिनुपर्छ । नचिनेको मान्छेलाई फ्रेन्ड रिक्वएस्ट नपठाउने र एसेप्ट नगर्ने गर्नुपर्छ । म्यासेज पनि नगर्ने, किन भन्दा इन्टरनेटमा सबै राम्रो मान्छे मात्र हुन्छन भन्ने हुँदैन । नराम्रो मान्छे पनि हुन सक्छन् । इन्टरनेटमा नचिनेको मान्छेले अथवा चिनेको मान्छेले पनि दुव्र्यवहार गरेको पाइन्छ । कसैले शंकास्पद कुरा गर्यो भने बच्चाहरुले अभिभावकहरुको भन्नुपर्छ । कसैले मलाई फोटो पठाउ भन्यो अथवा कसैले पैसा दिन्छु मलाई यस्तो यस्तो गर भन्यो भने अभिभावकसँग भन्नुपर्छ । 

अभिभावकले पनि यो विषयमा छलफल गर्नुपर्छ । आफूले सक्ने कुरा आफैंले नभए सहयोगको लागि कहाँबाट सकिन्छ त्यहाँ सम्पर्क राखेर सुरक्षाको लागि ध्यान दिनुपर्छ ।

लामो समय मोबाइल दिन हुँदैन

पहिलो कुरा त दुई वर्ष मुनिका बच्चालाई मोबाइल, यूट्युब देखाउनु नै हुँदैन । यसले उनीहरुमा नकरात्मक असर पर्छ । जसले गर्दा बच्चाहरुले आफूले सिक्नुपर्ने, गर्नुपर्ने कुरा सिक्न पाउँदैनन् । साथै  उनीहरुलाई मोबाइलको लत पनि पर्न सक्छ ।  

अर्को कुरा, मोबाइलबाट आउने उज्यालोले आँखामा असर पार्छ । ठूला बच्चाहरुको लागि दिनमा पटक पटक गरेर सकेसम्म  दिनमा एक या दुई घण्टा मोबाइल  हेर्न दिनुपर्छ  । लगातार तीन चार घण्टा हेर्यो भने निकै गाह्रो हुन्छ ।

सकेसम्म सानो स्क्रिन भएको मोबाइल वा ट्याब्लेटमा भन्दा ठूलो स्क्रिनमा हेर्ने गर्यो भने आँखालाई पनि असर पर्दैन । पढ्नकै लागि या होमवर्क नै गराउनुपर्यो भने पनि सानो स्क्रिनमा गाह्रो हुन्छ । बच्चाहरुको लागि दिनमा यति घण्टा मोबाइल इन्टरनेटमा बस्नुपर्छ भन्ने हुँदैन । तर पटक पटक गरेर दिनमा बढीमा चार घण्टा मोबाइल हेर्दा राम्रो हुन्छ ।

(चाइल्डसेफनेटका अध्यक्ष रघुवंशीसँगको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: चैत २८, २०८०

अनिल रघुवंशी

अनिल रघुवंशी चाइल्ड सेफ नेटका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया