काठमाण्डौका विभिन्न ठाउँमा आज साढे दुई देखि नौ घण्टासम्म बिजु...
बैशाख ८, २०८१ शनिबार
पर्सा – जनता आवास कार्यक्रम अन्तर्गत पर्साको जीराभवानी र पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर–५, निचुटाका दलित परिवारहरू अहिले समस्यामा परेका छन ।
आव २०७३/०७४ देखि लागू यो कार्यक्रम अन्तर्गत दलितहरूले आफ्नो पुरानो घर भत्काएर नयाँ अर्ध पक्की घर निर्माणमा जुटेका थिए । तर दुई वर्षायाम बितिसक्दा पनि अर्धपक्की घर तयार भएको छैन ।
‘यो वर्ष पनि त्रिपालको साहरामा उनीहरुको वर्षायाम कट्दैछ । सामान्य खालको घर बनाउन दुई वर्षको समय लाग्ने कुरालाई कुनै पनि आधारमा ठिक हो भन्न सकिने आधार छैन’, स्थानीय राधेश्याम हतोले भन्नुभयो, ‘यस्तै पाराले गर्दा नै सरकारी काम प्रति नागरिकको विश्वास पनि रहँदैन । जीराभवानीको मात्र हैन पटेर्वा सुगौलीको वडा नम्बर ५ निचुटाका २८ घरधुरी पनि छानाको माग गर्दै सदरमुका बीरगञ्ज स्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयका धाउदै छन् ।’
निचुटाका छन्नु हजरा दुसाधले त छाना हाल्न बाँकी रहदै आफ्नो घरको पर्खाल क्रेक भएको बताउनुभयो । उहाँले निर्माण समेत गुणस्तरहीन भएकोमा गुनासो समेत गर्नु भएको छ । एक त गरिब त्यसमाथि हेरिदिने बुझिदिने कोही छैन उहाँले भन्नुभयो, ‘पुरानै घर ठिक थियो । ओत त लागेकै थियो नी ।’
घर निर्माणमा प्रयोग गरिएको इट्टा समेत कमसल खालको भएको जुगल पासवानले बताउनुभयो । उहाँले आठवटा घरमा प्रयोग गरिएको इट्टा बोकेर ल्याएको समेत बताउनुभयो । गुणस्तरहिन निर्माण त्यो पनि वर्षाको बेला कष्टपूर्ण अवस्थामा सुनिदिने कोही छैन भन्दै उनीहरुले आक्रोश ब्यक्त गरे ।
निर्माणको जिम्मा लिने उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले यही अवधिमा जमिन किनेर पक्का ढलान घर बनाएको देखेका उनीहरुले अध्यक्ष भिखारी हजरा दुसाध र कोषाध्यक्ष लालबाबु राम जिम्मेवार नभएको बताउन भने छाडेनन ।
उनीहरुले आफूहरुको घर बनाउने पैसा चलाएर आफ्नो घर बनाएको र खोजी दिने कोही नभएको आरोप समेत लगाए । जीराभवानी गाउँपालिका–१, निवासी शत्रुघ्न राम चमारले भन्नुभयो, ‘बिहान–बेलुकी छाक टार्ने समस्या त छँदै थियो, अहिले ओत लाग्ने समस्या पनि भोग्नुपरेको छ ।’
एक वषभित्र निर्माण हुनुपर्ने अर्धपक्की घर दुई वर्ष बितिसक्दा पनि निर्माण नहुँदा बिचल्लीमा परेको उहाँको भनाई छ । घरनिर्माणको काम पूरा भएको छ तर छाना नहाल्दा प्लास्टिकको त्रिपाल राखेर बस्नुपर्ने अवस्था उनीहरूको छ ।
जीराभवानी गाउँपालिका–१, मा ५३ र वडा नम्बर ४ मा ६४ गरी १ सय १७ घर निर्माण हुँदैछन् । यो वर्षामा पनि सबैको समस्या समान छ । घर निर्माणको लागि चार किस्तामा २ लाख १४ हजार रुपैयाँ पाउनुपर्ने हो तर चौथो किस्ताको अभावमा घरनिर्माण कार्य पूरा भएको छैन ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सदरे आलमले तेस्रो किस्ताको रकम निकासा सकिएको र चौथो किस्ताको रकम २२ हजार ५ सय रुपैयाँ छाना र शौचालय निर्माणपछि पठाउने बताउनुभयो ।
समयमा किस्ताको रकम नपाएपछि घरनिर्माणमा ढिलाइ भएको उनीहरुको भनाई छ । पर्सा जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत आव २०७३÷७४ मा एक हजार घर निर्माणको थालनी भएको थियो ।