पानीकाे मुहानकाे लागि भवन बनाउने विषयमा झडप : चार अभियुक्त पक्राउ, वडाध्यक्ष फरार

 असार २८, २०७७ आइतबार १३:२७:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – पानीको मुहानको विषयमा विवाद उत्पन्न भएपछि दुई गाउँलेबीच भएको झडपको घटनामा फरार चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३ का २४ वर्षीय जीवन बिक, ३५ वर्षीय बिर्ख ऐरी, २४ वर्षीय शशिराम बुढा र ३५ वर्षीय सुरेश विकलाई पक्राउ गरेको जनाएको छ । 

उनीहरुलाई गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो । उनीहरुलाई ज्यान मार्ने उद्योगअन्तर्गत कसुर मुद्दा दर्ता भइ अनुसन्धान अगाडि बढाइएको डिएसपी केसीले बताउनुभयो । 

‘घटनाका मुख्य आरोपी चार जनालाई पक्राउ गरेका छौँ’, डीएसपी केसीले उज्यालोसँग भन्नुभयो, ‘घटनामा संलग्न वडाध्यक्ष केशरमान विकसहित अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको छ, छिट्टै पक्राउ गर्छाैँ ।’ 

उहाँका अनुसार पक्राउ परेकाहरुको बयान, पीडितहरुको उजुरीको आधारमा घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको छ । 

गएको वैशाख २७ गते आठबीसकोट नगरपालिका ३ को खदीमा त्यही वडाका तलिगाउँ र माथीगाउँका मानिसबीच झडप भएको थियो । पानीको मुहानको लागि भवन निर्माणको विषयमा भएको विवादमा त्यही वडाका वडाध्यक्ष केशरमान विकसमेतको समूहले तलिगाउँ टोलका स्थानीयलाई आक्रमण गरेपछि सुत्केरी महिलासहित आठ जना घाइते भएका थिए । 

त्यो घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएको थियो भने घटनाका आरोेपीहरु फरार भएका थिए । 

घटनामा ४६ वर्षीय गोपाल बोहरा, २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी गम्भीर घाइते भएका थिए । घाइते गोपाल पालिकाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार भइ पराजित भएका थिए । 

घटनामा २८ वर्षीया सुत्केरी दिलकुमारी यरी थापा, ६१ वर्षीय अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा घाइते भएका थिए । यी घाइतेहरु वडाको तलिगाउँका हुन् भने अर्का घाइते शशिराम बुढा माथिगाउँ टोलका हुन् । वडाध्यक्ष विकको समूहले घरेलु हातहतियारसहित ढुङ्गामुढा प्रहार गरेपछि स्थिति अनियन्त्रित भएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया