विपत्तिपछि विभिन्न रोगको प्रकोप हुन सक्छ, सावधानी अपनाऔँ

 असार २८, २०७७ आइतबार १४:२:७ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ – बाढी, पहिरोलगायतका विपत्तिपछि विभिन्न रोगको प्रकोप फैलने जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । बाढीको समयमा विशेष गरी पानी, खाना र किटजन्य रोगहरुको जोखिम बढ्छ । 

बाढी, पहिरो गएको ठाउँमा कतै पानीका मुहान पुरिने र कतै दूषित हुने भएकाले विभिन्न पानीजन्य रोगको प्रकोप र अरु किटजन्य रोगको समेत जोखिम हुने भएकोले सावधानी अपनाउनुपर्ने टेकु अस्पतालका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, ‘विशेष गरी बाढी प्रभावित क्षेत्रमा पानी, खाना र किटजन्य रोगको प्रकोप फैलने खतरा हुने गर्छ ।’

उहाँका अनुसार तक्काल देखिन सक्ने भनेको पानीजन्य प्रकोप हो । त्यसपछि केही समयपछि किटजन्य प्रकोप पनि देखिन थाल्छ । पानीजन्य भन्नाले झाडापखाला, टाइफाइड, खानाजन्य भन्नाले हैजा र किटजन्य भन्नाले लामखुट्टे तथा भुसुनाको टोकाइ जसबाट डेङ्गी, कालाजार बुझिन्छ ।

अहिलेको अवस्था झनै जोखिमपूर्ण 

हरेक वर्ष बाढी र पहिरोका कारण लाखौँ मानिस प्रभावित हुने गरेका छन् । जनधनको नोक्सानी पनि भएको हुन्छ । उनीहरुलाई सामूहिक रुपमा बासस्थानको व्यवस्था गर्दा रोग सर्ने जोखिम पनि उत्तिकै हुन्छ । अहिले त झनै कोरोना भाइरसको महामारीको कारण धेरै समस्या हुने डाक्टर पुन बताउनुहुन्छ । एउटै चर्पीको प्रयोग गर्दा, सामूहिक रुपमा खाना खाँदा र बस्दा कोरोनाको सङ्क्रमणसँगै अन्य रोगको समेत जोखिम हुने डाक्टर पुन बताउनुहुन्छ । त्यस्तै अहिले सिजनल फ्लुसमेत देखिने समय भएकोले यसतर्फ पनि ध्यान दिन आवश्यक छ । 

बाढी र पहिरोजस्ता विपत्तिका कारण धेरै मानिस विस्थापित भएर स्कुल, मन्दिर, चौर आदि ठाउँहरुमा बसिरहेका छन्  । यो सङ्ख्या बढ्दै गयो भने अस्थाइ टहरा वा क्याम्प बनाएर पनि राख्नुपर्ने अवस्था आउन सक्छ । ती ठाउँमा कसैलाई कुनै सङ्क्रामक रोग देखियो भने धेरै जनामा छिटै सर्न सक्छ । त्यस्ता ठाउँमा शुद्ध खानेपानी, शौचालय, फोहर व्यवस्थापनलगायत सरसफाइमा ध्यान दिन नसकिएको हुन सक्छ । फेरि पानी जम्ने  खाल्डोहरुमा लामखुट्टे बस्ने हुँदा त्यसको टोकाइबाट पनि विभिन्न रोग सर्ने जोखिम हुन सक्छ ।  

सङ्घ–संस्थाको भूमिका महत्त्वपूर्ण

अहिलेको अवस्थामा प्रभावित ठाउँका नागरिकलाई सहयोग गर्न विभिन्न सङ्घ–संस्थाको भूमिका महत्त्वपूर्ण हुने डाक्टर पुन बताउनुहुन्छ । यो बेला प्रभावितहरु जनधनको नोक्सानीका कारण तनावमा हुन्छन् । त्यसैले सुरक्षाका उपाय अपनाउन नसकेका पनि हुन सक्छन् । यस्तो अवस्थामा पालिका, सम्बन्धित निकाय र विभिन्न सङ्घ–संस्थाले नियमन गनुपर्ने उहाँको भनाइ छ । प्रभावितहरु पीडामा भए पनि थप जनधनको नोक्सानी नहोस् भन्नको लागि शुद्ध खानपान र सरसफाइमा ध्यान दिने बनाउन कोसिस भने गर्नुपर्छ । 

कसरी बच्ने त ? 

यस्ता विभिन्न रोगको प्रकोपबाट बच्नको लागि विभिन्न सावधानीका उपाय अपनाउनुपर्ने हुन्छ । जस्तै अस्थाइ चर्पीको निर्माण गर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, अस्थाइ बासस्थान वा घर वरपर सरसफाइमा ध्यान दिने । साथै हात धुने कुरालाई थप जोड दिने र हात धुन चाहिने पानी, साबुन, जग र धारा उपलब्ध गराउने, कपडाहरु सफा राख्ने, वरपरका पानी जमेका खाल्डा पुर्ने, सम्भव भएसम्म झुल लगाउने वा पूरा शरीर ढाक्ने कपडा लगाउने उपाय अपनाउन सकेमा यस्ता समस्याबाट बच्न सकिन्छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया