जग्गा भाडामा लिएर खाेटाङका ४ युवाले सुरु गरे ड्रागन फ्रुटको खेती

 असार २८, २०७७ आइतबार २१:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको साकेला गाउँपालिका २ काे रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन् ।

स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्र राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर सामूहिकरुपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् । 

आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिकाले उपलब्ध गराएको आठ लाख अनुदान र ड्रागन फर्म सञ्चालकको चार लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती सुरु गरिएको हो ।

पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती लगाइएको सञ्चालक पर्वत राईले बताउनुभयो । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षकाे लागि जग्गा भाडामा लिएर खेती लगाइएको हो । 

पालिकास्तरीय नमुना कृषि फर्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती सुरु भएकाे गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो । 

फर्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउनकाे लागि रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । उनीहरुले आउँदो वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया