म्याग्दी पहिरो : ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो, मराङमा १९ जनाको सामूहिक अन्त्येष्टि

 असार २९, २०७७ सोमबार ६:५५:२२ | प्रताप बानियाँ

म्याग्दी – अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ ।

रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ ९कल्लेनीका० जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।

पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको एनआई सेभेन्टिन हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाण्डौमा उपचारका लागि पठाइएको छ । ओमकुमारी शान्ति कोष र जीसी ग्रुपका अध्यक्ष नारायण जिसीको पहलमा प्रभु एअरको हेलिकप्टरमा घाइते र गर्भवतीको उद्धार गरिएको थियो ।

धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को विम, दुले र नुर्बाङमा पहिरो गएको हो । पहिरोमा परेर घाइते भएका ६ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको भनिए पनि बाढी पहिरोबाट अधिकांश घर तथा गोठमा क्षति पुगेको जनाइएको छ । पहिरोबाट ध्वस्त भएका घरहरुको तथ्याङ्क सङ्कलनको काम सुरु भएकाले एकिन तथ्याङ्क भने अझै आइनसकेको प्रहरीले जनाएको छ ।

अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो । 

पहिरोमा ज्यान गुमाएकाको सामूहिक अन्त्येष्टि

मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन् । प्राकृतिक विपत्तिले तहसनहस भएको मराङमा पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएको शवलाई अन्त्येष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए । 

मराङको पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा दाहसंस्कार गरिएको हो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया गरी आफन्त तथा परिवारलाई बुझाइएको हुँदा उनीहरुको सामूहिक एवं एकल रुपमा दाहसंस्कार भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । 

सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा अन्त्येष्टि गरिएको थियो । 

यता मालिका–७, विम गाउँमा पनि पहिरोमा ज्यान गुमाएकाको शव फेला परेका ८ जनाको अन्त्येष्टि गर्ने तयारी गरिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
बिहीबार राति आएको पहिरोमा पुरिएकाहरुको शव शनिबार निकालिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया