कोरोनाको कारण गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै

 असार ३०, २०७७ मंगलबार ९:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै गएको छ । केही दिन अघिसम्म कुल बिरामीको दुई प्रतिशत बिरामी गम्भीर अवस्थामा पुग्ने गरेकामा अहिले घटेर एक प्रतिशतमा झरेको वल्डोमिटरले जनाएको छ ।

वल्डोमिटरका अनुसार अहिले विश्वभर एक करोड ३२ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ४९ लाख ९३ हजारभन्दा धेरैको उपचार चलिरहेकोमा एक प्रतिशत अर्थात ५८ हजार ८ सय ८१ जनाको अवस्था जटिल रहेको र बाँकी ९९ प्रतिशत अर्थात ४९ लाख ४ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ ।

यस्तै कोरोनाबाट ७६ लाख ९६ हजारभन्दा धेरै उपचार पछि निको भएका छन् । ५ लाख ७५ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ३४ लाख ७९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख ३८ हजार जनाको ज्यान गैसकेको छ । १५ लाख ४९ हजारभन्दा धेरै निको भएका छन् ।

यस्तै ब्राजिलमा साढे १८ लाखमा सङ्क्रमण पुष्टि हुँदा साढे ७२ हजारको ज्यान गएको छ । यसैगरी ९ लाख जनामा सङ्क्रमण पुष्टि भएको भारतमा साढे २३ हजार भन्दा धेरैको ज्यान गएको वल्डोमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा २८ हजार नयाँ बिरामी थपिएका छन् भने ५ सय ४० जनाको ज्यान गएको छ ।

यसैबीच भारतको बैङलोरमा आजदेखि साउन ७ गतेसम्मका लागि फेरि लकडाउन गर्ने निर्णय भएको छ । आज बेलुकी ८ बजेदेखि साउन ७ गते बिहान ५ बजेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कर्नाटकमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै गएको भन्दै लकडाउन गर्ने निर्णय गरिएको खबरमा उल्लेख छ । कर्नाटकमा मात्रै तीन दिनमा १ सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया