अयोध्याबारे के भन्नुभएको थियो प्रधानमन्त्री ओलीले ?

 असार ३०, २०७७ मंगलबार १२:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ । रामको जन्मभूमि अयोध्या नेपालमै हो भन्ने उहाँको अभिव्यक्तिको भारतमा  चर्को आलोचना भएको छ । 

भानु जयन्तीको अवसरमा सोमबार बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले अयोध्याबारे दिनुभएको अभिव्यक्ति यस्तो छ :

रामायण एक/दुई पुस्ताले मात्रै हैन धेरै पुस्ताले पढिसकेको छ । भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गर्नुभएको हो । उहाँको बारेमा धेरै चर्चा गर्नुपर्छ जस्तो मलाई लाग्दैन । हाम्रो सभ्यता र सभ्यताको विकास, हाम्रो भाषाको टुटेको कडीलाई उहाँले जोड्नुभयो ।

यो धरतीमा नेपालबाहेक कसैले पनि दोहोरी गाउन सक्दैन । हाम्रा शास्त्रहरु साहित्य, कला, ज्ञान, विज्ञानहरुको उद्गमस्थल हो ।

लुम्बिनी खाली गौतम बुद्धको जन्मस्थल मात्रै होइन । बुद्धिस्टहरुको उद्गमस्थल पनि हो ।

ध्यानका लागि शान्त वातावरण चाहिन्छ । शरीरलाई तापक्रम पनि दुःख कष्ट नहुने खालको चाहिन्छ । कुनै प्रकारको दृष्टि प्रदूषण, ध्वनी प्रदूषण अथवा गन्ध प्रदूषण हुनुहुँदैन । व्यासले किन यही ठाउँलाई तपोभूमि बनायो ? वाल्मीकिले आश्रम त्रिवेणीभन्दा तल झार्न किन सकेन ? त्यसैले यो भूमि (नेपाल) तपोभूमि हो ।

हामी सांस्कृतिक हिसाबले अलिकति थिचिएका छौँ, मिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामीले सीता भारतका राजकुमार रामलाई दियौँ । भारतकालाई होइनौँ, अयोध्याका लागि दिएका हौँ हामीले । अयोध्या भनेको वीरगन्जभन्दा अलिकता पश्चिमपट्टिको ठाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या अर्थात् भीषण विवाद छ त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा रहेको छ । 

दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान ((राम) पनि भारतीय हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको हुँदै होइन ।

वाल्मीकि आश्रम त्यहीँ छ । यहाँको जनकपुर त्यहाँको अयोध्या हुन्थ्यो भने त्यहाँका राजा जनकपुर कसरी आइपुगे ? त्यस बेलाको जमानामा न टेलिफोन न मोबाइल कसरी थाहा होस् । कसरी आइपुगे ? नजिकै भएको भएर त यो सबै सम्भव भएको हो । नजिकै पर्थ्यो, सजिलैसँग गए होलान् । तर त्यो इतिहास बहस गरी साध्य छैन । फेरि एक हमलामाथि अर्को....।

तर अयोध्या यहाँ छँदै छ अझै पनि । घर माइती नजिक नभएको भए यति छिटो–छिटो हुन सक्दैन थियो । वीरगञ्जको अलि पर भएकोले मात्रै सम्भव भएको हो । अयोध्याबाट वाल्मीकि आश्रम जान सजिलो थियो । पछि सीतालाई रामले अयोध्याबाट ल्याएर वाल्मीकि आश्रममा दुई/चार दिनमात्रै राखेका होइनन् ।

सबै कुरा– ज्ञानको, विज्ञानको, अनेक कुराको सुरुवात यहाँ (नेपाल) मा भएको थियो । त्यो सबै बीचमा टुट्यो । पछिल्लो समयमा आएर त्यो एउटा ज्ञान केन्द्र बन्न पुग्यो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया