अयाेध्या विवाद : 'प्रधानमन्त्रीले मन्तव्य फिर्ता लिँदै आत्मालोचना गर्नुपर्छ'

 असार ३०, २०७७ मंगलबार १७:५५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभएको छ । 

साथै प्राविधिक तथा इतिहासविद्को टोली बनाइ त्यस सम्बन्धमा अनुसन्धान र तथ्य सङ्कलनमा लाग्न गौतमले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । 

‘राम जन्मुभूमिका सम्बन्धमा प्रधानमन्त्री ओलीको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको र त्यसको व्यापकतालाई ध्यानमा राख्दै आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु’, नेता गौतमले फेसबुकमा लेख्नुभएको छ । 

यस्तो छ गौतमको सुझाव–

~~राम जन्मभूमि र विवाद~~

नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क. केपी शर्मा ओलीले हिजो अर्थात् असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो । 

क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रशंसा गरिरहिने छ । संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।
३० असार, २०७७ 

अयोध्याबारे के भन्नुभएको थियो प्रधानमन्त्री ओलीले ?

रामको जन्मभूमि अयोध्या नेपालमै हो भन्ने उहाँको अभिव्यक्तिको भारतमा  चर्को आलोचना भएको छ । 

हामी सांस्कृतिक हिसाबले अलिकति थिचिएका छौँ, मिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामीले सीता भारतका राजकुमार रामलाई दियौँ । भारतकालाई होइनौँ, अयोध्याका लागि दिएका हौँ हामीले । अयोध्या भनेको वीरगन्जभन्दा अलिकता पश्चिमपट्टिको ठाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या अर्थात् भीषण विवाद छ त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा रहेको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया