म्युचुअल फण्डको कारोबार पनि घाटामा, चार योजना मात्रै फाइदामा

 साउन २०, २०७५ आइतबार ५:५१:३९ | रासस

काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा म्युचुअल फण्डमध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ । 

धितोपत्र बजारमा कारोबार भइरहेका ती फण्ड अन्य संस्था वा कम्पनीको जस्तै खराब अवस्थामा रहेका छन् । अधिकांश म्युचुअल फण्डको अवस्था आधारभूत मूल्यभन्दा तल रहेका कारण लगानीकर्ताले नाफा पाउने अवस्थासमेत कमजोर बन्न पुगेको छ । 

स्टकको पछिल्लो बिहीबारको विवरणलाई हेर्ने हो भने कूल १३ मध्ये चार वटा म्युचुअल फण्ड मात्रै आधारभूत मूल्यभन्दा माथि रहेको छ । नौ वटा त्यस्ता सामूहिक लगानीका लागि स्टकमा सूचीकृत म्युचुअल फण्ड भने आधारभूत मूल्यभन्दा तल रहेका छन् । 

म्युचुअल फण्डको आधारभूत मूल्य प्रतिएकाइ रु १० हुने गरेको छ । शेयर बजारमा यस्ता फण्डलाई मेरुदण्डका रुपमा समेत लिइन्छ । पछिल्लो पटक शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । त्यसको प्रभावसमेत यसमा परेको छ । लगानीकर्ताले क्रमशः आफ्नो लगानी गुमाइरहेका छन् । 

स्टकका अनुसार लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैयाँ ४० पैसा रहेको छ । यस योजनामा प्रतिएकाइ ४० पैसा मात्रै फाइदा रहेको छ । यस्तै एनआइबिएल समृद्धि फण्ड एक योजनाको प्रतिएकाइ मूल्य १० रुपैयाँ ५० पैसा रहेको छ । यसमा मात्रै ५० पैसा नाफा रहेको छ । 

आधारभूत मूल्यभन्दा माथि रहेको अर्को योजना हो एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड एक । यसको बजार मूल्य रु १२ रहेको छ । यसमा प्रतिएकाइ रु दुई फाइदा रहेको छ । यस्तै सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको मूल्य ११ रुपैयाँ ४४ पैसा रहेको छ । यस योजनामा लगानी गर्नेले एक रुपैयाँ ४४ पैसा मात्रै नाफा कमाएका छन् । 

शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव यस्ता सामूहिक लगानी कोषमा समेत परेको छ । स्टकका अनुसार सिटिजन म्युचुअल फण्डको आधारभूत मूल्यभन्दा बजार मूल्य तल रहेको छ । यस योजनामा लगानी गर्नेले प्रतिएकाइ एक रुपैया छ पैसा घाटा व्योहोरेका छन् । 

ग्लोबल आइएमइ समुन्नत स्किमको बजार मूल्य आठ रुपैयाँ ७० पैसा रहेको छ । आधारभूत मूल्यभन्दा तल रहेको यस योजनामा लगानी गर्नेले प्रतिएकाइ एक रुपैयाँ ३० पैसा घाटा खाएका छन् । 

लक्ष्मी बैंकको प्रवद्र्धनमा रहेको लक्ष्मी इक्विटी फण्डमा लगानी गर्नेले समेत प्रतिएकाइ एक रुपैयाँ ८४ पैसा घाटा व्योहोरेका छन् । उता नबिल इक्विटी फण्डमा लगानी गर्नेले प्रतिएकाइ रु एक घाटा खानुपरेको छ । नबिल प्रगति फण्डको अवस्था पनि उस्तै रहेको छ । आधारभूत मूल्यभन्दा एक रुपैयाँ ९४ पैसा लगानीकर्तालाई घाटा भएको छ । 

एनआइसी एसिया ग्रोथ फण्डमा लगानी गर्नेको हालत पनि उस्तै रहेको छ । आधाारभूत मूल्यभन्दा प्रतिएकाइ ९३ पैसा घाटा भइरहेको छ । एनएमबी हाइब्रिड फण्डको अवस्था पनि उस्तै छ । स्टकका अनुसार सो योजनामा लगानी गर्नेले प्रतिएकाइ ७४ पैसा घाटा खाइरहेका छन् । 

सानिमा बैंकको प्रवद्र्धनमा रहेको सानिमा इक्विटी फेण्डमा लगानी गर्नेले प्रतिएकाइ ८० पैसा घाटा खानुपर्दा सिद्धार्थ एक्विटी फण्डमा लगानी गर्नेले प्रतिएकाइ ९० पैसा घाटा सहनु परेको छ । 

सामूहिक लगानीका लागि स्थापना भएका यस्ता योजनामा समेत लगातार गिरावट आएपछि लगानीकर्तालाई समेत नकारात्मक प्रभाव परेको सहजै अनुमान गर्न सकिन्छ । 

यही साउन १० गते नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार तोकिएको सीमाभन्दा बढी लगानी गरेको भन्दै केही योजनालाई स्पष्टीकरण सोधेको थियो । 

त्यस्ता योजनाले बोर्डमा पेश गरेको मासिक खुद सम्पत्ति विवरणअनुसार उक्त योजनाको लगानी गर्दा बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढी हुने गरी लगानी गरेको पाइएकाले बोर्डले स्पष्टीकरण सोधेको थियो । 
बोर्डका अनुसार स्थलगत निरीक्षणका क्रममा सीमाभन्दा बढी लगानी गरेको पाइएकाले सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्ड, एनएमबी हाइब्रिड फण्ड एकलगायतलाई स्पष्टीकरण सोधिएको हो । 

शेयर बजारमा एक अर्ब बढीको कारोबार 

यसैगरी धितोपत्र बजारमा यस साता रु एक अर्ब सात करोड ६७ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १।९४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको रु एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता शेयर खरीद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३।५१ अंकले घटेर अन्तिम दिन एक हजार १९१।३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०।४० अंकले घटेर २५१।१५ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमको आधारमा माछापुच्छे« बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु छ करोड ८७ लाख १० हजार बराबरको शेयर कारोबार भएको छ । 

त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको तीन लाख ३५ हजार कित्ता शेयर कारोबार भएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया