आममाफीको दुई दिनमा युएईबाट २४ नेपाली फर्किए

 साउन २०, २०७५ आइतबार ११:७:४ | उमाकान्त पाण्डे
unn.prixa.net

आममाफी बारे बुझ्न आबुधावीमा रहेको नेपाली दूतावास आइपुगेका कामदार सूचना पढ्दै ।

युएई– विभिन्न कारणले युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका छन् ।

बुधबारदेखि सुरु भएको आममाफी अन्तर्गत दुई दिनमा २४ जना नेपालीले प्रक्रिया पुरा गरेर नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ । घर फर्किनेमा ५ जना महिला छन् । ती मध्ये ९ जनाले नेपाली दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएर नेपाल फर्किएका हुन । 

साथमा पासपोर्ट नहुनेहरु दूतावासमा आएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ भने राहदानी हुनेहरु युएईले दिएको आउटपास लिएर नेपाल फर्किन सक्छन् । अवैधानिक रुपमा बसिरहेका नेपालीहरु युएईले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै धेरैजसो भिसा लगाएर बैधानिक बन्ने प्रयासमा देखिन्छन् ।

‘अब नयाँ पासपोर्ट बनाएर भिसा लगाई कानुन अनुसार यही काम गर्छुु’ युएईमा ४ वषदेखि अवैधानिक रुपमा बस्दै आएकी ताप्लेजुङकी अनिता तामाङले भन्नुभयो । 

तामाङले बैधानिक रुपमा भिसा लगाएर बस्न दूतावासमा राहदानीका लागि आवेदन दिनुभएको छ । त्यसरी आवेदन गर्न सकिने अवस्थाका बारेमा धेरै नेपालीले सोधपुछ गरिरहेको दूतावासको राहदानी फाँटमा कार्यरत तृतीय सचिव केशबराज पोखरेलले जानकारी दिनुभयो ।

अहिलेसम्म यही प्रयोजनका लागि एक जनाले मात्रै आवेदन दिएपनि दोस्रो हप्ताबाट यो क्रम बढ्न सक्ने पोखरेलको भनाई छ ।   आममाफी प्रकृयामा धेरै नेपाली रहेको पाइए कार्यालय समय बढाएर वा सार्वजनिक विदाको दिन समेत दूतावास खोलेर सेवा दिने तयारी दूतावावासको छ ।

तर पनि नेपाली दूतावासमा आएर वा टेलिफोन गरेर जानकारी माग्ने नेपालीको सख्या खासै नबढेको कार्यबहाक राजदूत  सागरप्रसाद फुयालले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया