बीस वर्ष विदेश बस्दा रित्तो हात, गाउँमा खेतीपातीले मालामाल

 साउन २०, २०७५ आइतबार १३:४३:३४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – सेतै फूलेका दारी र कपाल । दिनभर गोठ र खेतबारीमा काम । बाख्रा कुखुरालाई घाँसपात र दानापानी । तरकारी तथा फलफूल गोडमेल । यसरी नै दिन बित्छन्, म्याग्दीको मंगला गाउँपालिका १, कुहुँ (मौलाथर)का रनबहादुर खत्रीको । 

५४ वर्षे खत्री अहिले व्यावसायिक पशुपालन र कृषिमा व्यस्त हुनुहुन्छ । पशुको स्याहारसुसार र खेतीको रेखदेख गर्ने उहाँको दैनिकी हो । उहाँले व्यावसायिक रुपमा बाख्रा तथा कुखुरापालन, फलफूल र तरकारी खेती गर्नुभएको छ । २० वर्ष विदेश बसेर आफ्नै देश फर्किएपछि उहाँले गाउँमै पशुपालन र कृषि सुरु गर्नुभएको हो । 

बहराइनबाट फर्किएर खत्रीले २०७२ सालदेखि व्यावसायिक रुपमा पशुपालन र कृषि सुरु गर्नुभएको हो । विदेशमा रहँदा उहाँले ३ वर्ष लेवरका रुपमा काम गर्नुभयो । बाँकी १७ वर्ष सवारी चालक । बहराइनको एक कम्पनीमा मोटर चलाएका खत्रीले बिहान बेलुका मान्छे ओसार्ने र दिउँसोको समयमा काममा चाहिने मालसामान ओसार्ने गरेको बताउनुभयो । गाउँ बस्दा कमाई गर्ने खासै काम नपाएपछि उहाँ विदेशिनु भएको थियो । 

खत्रीले झारजङ्गलले भरिएको, उत्तिस पलाएको र फूलपाती फूलेको देख्न नसकेपछि आफ्नो खाली जमिनमा कृषि खेती सुरु गर्नुभयो । खाली जग्गामा घाँसखेती गरेर उहाँ सुरुमा व्यावसायिक बाख्रापालनमा लाग्नुभयो । 

घरमा रहेका दुईवटा बाख्रामाथि एउटा बोकासहित २० वटा बाख्रा थपेर उहाँले २३ वटा पुर्‍याई बाख्रापालन व्यवसाय अगाडि बढाउनुभयो । अर्को वर्ष २३ वटा बाख्राबाट बढेर ४६ पुगे । अर्मन, गौंस्वाँरा, चिप्लेटी र डडुवामा पुगेर अरु कृषकले गरेको व्यवसाय हेरेर बाख्रापालन सुरु गरेको उहाँको भनाइ छ ।

खत्रीले गोपाल बाख्रापालन फर्म स्थापना गरेर सञ्चालनमा ल्याउनुभएको छ । उहाँले खोर निर्माण, बाख्रा खरिद, खोरमा तारजालीको व्यवस्थापन, डाले तथा भुइँघाँस रोप्ने सहित व्यावसायिक बाख्रापालनमा पाँचलाख रुपैयाँ लगानी गरेको जानकारी दिनुभयो । 

उहाँको खोरमा स्थानीय खरी जातका बाख्रा र बोयर जातको बोका रहेका छन् । ८ वटा कोठाको क्षमता रहेको खोरमा ५० ओटा बाख्रा अटाउँछन् । अहिले खत्रीको खोरमा बोका, पाठापाठी, माउ बाख्रा गरेर ३६ वटा छन् । 

गएको वर्ष बाख्रा बिक्री गरेर एकलाख ६० हजार रुपैयाँ आम्दानी गर्नुभएका खत्रीले गएको बैशाखदेखि हालसम्म एकलाख १४ हजार रुपैयाँ आम्दानी गरिसकेको बताउनुभयो । उहाँले खेतीपातीका लागि बाख्राको मल (जुतो) पनि बेच्नुहुन्छ । उहाँसँग १२-१४ हजारदेखि ५०-६० हजार रुपैयाँसम्मका बाख्रा र बोका छन् । 
    
कृषक खत्रीलाई श्रीमती तुलकुमारीले राम्रो सहयोग गरिरहनुभएको छ । समाज परिवर्तन गर्नका लागि पहिला आफै परिवर्तन हुनुपर्छ भन्ने भावनाले परम्परागत खेती प्रणालीलाई परिवर्तन गरी आधुनिक बनाउन खोजेको कृषक खत्रीले बताउनुभयो । उहाँले बेनीमा बागवानी विषय पढेको हुँदा विदेशबाट फर्किएपछि केही न केही त गर्नैप¥यो भन्ने मनसायले कृषि खेतीतर्फ आफू आकर्षित भएको बताउनुभयो । 

विदेशमा ड्राइभर काम गरेर स्वदेश फर्किएपछि कसरी कृषि पेशा अपनाउनुभयो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘आफ्नो बाबुबाजेले गरेको परम्परागत कृषिलाई केही परिवर्तन गरेर आधुनिक बनाउन खोजेको हुँ । देशको परिवर्तन गर्नका लागि कृषि खेतीलाई प्रोत्साहन गर्नुपर्ने र विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ । 

घाँस आफै उत्पादन गर्दै 

व्यावसायिक रुपमा बाख्रापालन गरेको उहाँले बाख्रालाई चाहिने विभिन्न खालका डाले तथा भुइँघाँस रोप्नुभएको छ । खत्रीको खेत, खरबारी, बारीको छेउछाउ, खोल्सा, खोल्सीमा निमारो, रायखन्यु, इपिल, किम्बु जातका डालेघाँसका विरुवा छन् । 

उहाँले साविकको जिल्ला पशु सेवा, वन र भू संरक्षण कार्यालयबाट विरुवाहरु लगेर रोप्नुभएको थियो । साथै कृषक खत्रीले ५ वर्षका लागि पाँच रोपनी जग्गा भाडामा लिएर विभिन्न जातका घाँस र डालेघाँस लगाउनुभएको छ । उहाँले व्यावसायिक पशुपालन गर्न गाउँपालिकाबाट एकलाख रुपैयाँ अनुदान पाएको बताउनुभयो । 

फलफूल तथा तरकारी खेती 

बाख्रापालन व्यवसायमा होमिएका रनबहादुरले फलफूल र तरकारी खेती समेत सुरु गर्नुभएको छ । उहाँले सात रोपनीमा पाँच हजार अलैंचीका विरुवा, तीन रोपनीमा सुन्तला र कागतीका दुईसय वटा विरुवा लगाउनुभएको छ । 

सुन्तला र कागतीसहित ४० ओटा बोटले उत्पादन दिएको उहाँले बताउनुभयो । कृषक खत्रीले दुई रोपनी जग्गामा व्यवसायिक रुपमा दुई सयभन्दा बढी नङ्ग्रे, धुर्से, मुहुङ्ग्रे जस्ता स्थानीय जातको केरा खेती पनि गर्नुभएको छ । उहाँले नासपाती पनि लगाउनुभएको छ । 

यसैगरी खत्रीले एक रोपनीमा ३५ बोट किबी खेती लगाएकोमा १५ ओटाले फल दिएको छ । कृषक खत्रीले दुईवटा टनेलमा गोलभेंडा खेती गर्नुभएको छ भने बारीमा रायो साग, मुला, कांक्रोका साथै मौसमी र बेमौसमी तरकारी खेती लगाउनुभएको छ । 

दुई रोपनीमा गरेको तरकारी र फलफुलबाट वार्षिक करिब सातलाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा उहाँको छ । उहाँले साविकको जिल्ला कृषि विकास कार्यालयबाट फलफूलका विरुवा र ५० प्रतिशत अनुदानमा टनेल सहयोग पाउनुभएको थियो । 

व्यावसायिक कुखुरापालन पनि 

बाख्रापालन, फलफूल र तरकारी खेती गरेका कृषक खत्रीले मासु खान र बिक्रीका लागि ब्रोइलर कुखुरा पनि पाल्नुभएको छ । कुखुराका लागि खोर निर्माण, कुखुराका चल्ला खरिद र दानापानीमा करिब डेढलाख रुपैयाँ लगानी गरेको कुखुरापालनबाट वार्षिक दुईलाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । खत्रीले वर्षमा २५ सय केजी कुखुरा बिक्री गर्दै आइरहनुभएको छ । कुहुँ गाउँमै ब्रोइलर कुखुरा बिक्री हुन्छ । 

बजारको समस्या छैन

व्यावसायिक बाख्रापालन, फुलफुल, तरकारी खेती र कुखुरापालन गर्नुभएका कृषक रनबहादुर खत्रीले बिक्री गर्न बजारको समस्या नभएको बताउनुभयो । उहाँको खोरमै जिल्लाको विभिन्न स्थानबाट ग्राहक बाख्रा, पाठापाठी तथा बोका र खसी खरिद गर्न पुग्छन् । कुहुँमा उत्पादित बाख्रा, फलफुल तथा तरकारी खेती घरबाटै बिक्री हुँदै आइरहेको छ ।

वार्षिक आठलाख आम्दानी

बाख्रापालन, फलफूल, तरकारी र कुखुरापालन गरेका खत्रीले वार्षिक रुपमा आठ लाख रुपैयाँ आम्दानी हुने गरेको बताउनुभयो । उहाँले व्यावसायिक बाख्रापालनबाट मात्रै वर्षमा सरदर तीनलाख रुपैयाँ कमाउनुहुन्छ । 

त्यस्तै फलफूल तथा तरकारीबाट तीनलाख र कुखुरापालनबाट दुईलाख रुपैयाँ आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो । उहाँले लगाएको फलफूल खेतीले राम्रो उत्पादन दिन सके र अझै मौसम अनुकुल भएमा सबै व्यवसायबाट वर्षमा कुल १५-१६ लाख रुपैयाँ आम्दानी गर्ने योजना रहेको सुनाउनुभयो । 

प्रविधि नहुँदा समस्या

पशुपालन र तरकारी खेती व्यवसायलाई थप व्यावसायिक बनाउन प्रविधि नहुँदा समस्या भएको कृषक खत्री बताउनुहुन्छ । व्यावसायिक कृषि र पशुपालन गरेका कृषकलाई आवश्यक प्रविधि, औजार र सिपको अभाव रहेको उहाँको भनाइ छ । 

घाँस काट्ने मेसिनको अभाव, अन्य किसिमका औजार सामाग्री नहुने जस्ता समस्या रहेको भन्दै उहाँले भन्नुभयो– ‘कृषि खेतीका लागि भने जति भएन । कृषकलाई दक्ष बनाउन प्रविधिमा पहुँच पुर्‍याउनुपर्ने र त्यसै अनुसार लगानी तथा अनुदान आवश्यक पर्छ ।’ 

अन्तिम अपडेट: असोज १, २०७५

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया