छोरी जन्माउने २ सयभन्दा बढी आमाले पाए प्रोत्साहन भत्ता

 साउन २०, २०७५ आइतबार १५:८:४३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – छोरी जन्माउने दुईसयभन्दा धेरैजनालाई बैतडीको दोगडाकेदार गाउँपालिकाकाले प्रोत्साहन भत्ता दिएको छ ।

गाउँपालिकाभित्र एक वर्षको अवधिमा छोरी जन्माएका २ सय १२ आमालाई प्रोत्साहन स्वरुप १/१ हजारका दरले गाउँपालिकाले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो ।

‘हाम्रो समाजमा छोरीलाई अलि विभेद नै गर्ने गरेको पाइन्छ । छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोरा–छोरी बीचको समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको हो’, दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले भन्नुभयो ।

छोरीहरुले पनि छोरासरह नै काम गर्न सक्छन भन्ने बुझाउन र समाजले उनीहरुलाई समान दृष्ट्रिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्तको व्यवसथ गरिएको उपाध्यक्ष कार्कीले बताउनुभयो ।

नेपाल सरकारले संस्थागत सुत्केरी भए वाफत दिने एक हजार र चार पटक गर्भ जाँच गराए वाफत पाउने ४ सय दिँदै आएकोमा गाँउपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाइ थप १ हजार प्रोत्साहन भत्ता दिएको हो । गएको वर्षदेखि नै गाँउपालिकाले यस्तो भत्ता वितरण गर्दै आइरहेको स्थानीय बिनोद बिष्टले बताउनुभयो । ‘यो एकदमै राम्रो कार्य हो, यसले समाजमा महिला माथि हुने विभेद अन्त्य गर्न सहयोग गर्दछ’, विष्टले भन्नुभयो ।

गाउँपालिकाले छोरी जन्माउदा दिने प्रोत्साहन भत्ताले केही राहत महशुस भएको दोगडाकेदार गाउँपालिका वडा नम्बर–३, श्रीकोटकी कुन्ती भूलले बताउनुभयो । श्रीकोट स्वास्थ्य चौकीमा छोरी जन्मिदा थप एक हजार पाउदा गाउँपालिकाले गरेको यो कार्य एकदम राम्रो लागेको उहाँले बताउनुभयो  ।

छोरा जन्मदा मात्रै खुशी हुने हाम्रो समाजको लागि गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी बीच हुने भेदभावमा कमी आउने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी इन्चार्ज तथा अहेब प्रेमबहादुर चन्दले बताउनुभयो । गाउँपालिकाले गरेको यो कार्यले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाको संङ्ख्यामा वृद्धि आएको र बच्चा जन्माउदा आमा र बच्चाको लागि खतरा पनि कम हुने उहाँले बताउनुभयो ।

गर्भाअवस्थामै छोरी भए गर्भ फाल्ने तथा भू्रण हत्यामा कमी ल्याउनका लागि गएको भदौबाट प्रोत्साहन दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया