खाने तेलमा लेदो भेटियो

 साउन २०, २०७५ आइतबार १५:५२:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – खानेतेलमा लेदो भेटिएको छ ।

प्रहरी, जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च लमजुङ, उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई र पत्रकारसहितको एक टोलीले बजार अनुगमन गर्दा लमजुङको सुन्दरबजारमा उत्तम तोरीको तेलमा लेदो भेटिएको हो ।

सुन्दरबजार नगरपालिका–७, क्याम्पसगेट बरेटारका किराना व्यापारी दिनेशराज जोशीको पसलमा राखिएको सुशील वनस्पति प्रालि परवानीपुर पर्सा, नेपालबाट उत्पादित उत्तम तोरीको तेलमा लेदो भेटिएको हो । जोशीले तेलमा लेदो भेटिएको जानकारी गराएसँगै सम्बन्धित निकायले पसल अनुगमन गरेको हो ।

तरकारी पकाउने बेलामा कराईमा तेल हाल्दा केही लेदोजस्तो पदार्थ भेटेपछि आफूले तेल प्रयोग नगरेको, बिक्री नगरेको र यसबारे सम्बन्धित निकायलाई जानकारी गराएको व्यापारी जोशीको भनाई छ ।

‘केही हप्ताअघि स्थानीय एक व्यापारीसँग ५ प्याक उत्तम तोरीको तेल ल्याएँको हुँ । तेल पनि बेचेँ । तर आफैँले खाना पकाउने समयमा उत्तम तोरीको तेल हाल्दा केही लेदो जस्तो पदार्थ भेटेँ । त्यसछि, तेल पनि बेचिन । प्रयोग पनि गरिनँ र यसबारे सम्बन्धित निकायलाई जानकारी गराएँ,’ उहाँले भन्नुभयो ।

वैशाखमा बनेको उल्लेख गरिएको उत्तम तोरीको तेलमा लेदो भटिएको हो । बनेको मितिले ९ महिनासम्म तेल प्रयोग सकिने तेलको बाहिरी प्याकेटमा उल्लेख गरिएको छ । पसलमा लेदोसहित भेटिएको ८ प्याक उत्तम तोरीको तेल प्रहरीले मुचुल्का उठाई बरामद समेत गरेको छ । बरामद गरिएको खाने तेल इलाका प्रहरी कार्यालय भोटेओडारमा राखिएको छ ।

अनुगमनमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारीका अनुसार लेदो भेटिएको उत्तम तोरीको तेल जाँचका लागि सम्बन्धित निकायको रोहवरमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइनेछ ।

यसैगरी, टोलीले उत्तम तोरीको तेल बेच्ने सुन्दरबजारका केही किराना पसलको अनुगमन पनि गर्यो । अनुगमनका क्रममा अन्य पसलमा भने उत्तम तोरीको तेलमा लेदो भेटिएन । वैशाखमा बनेको उत्तम तोरीको तेलमा लेदो भेटिएको तर असारमा बनेको सोही तेलमा भने लेदो नभेटिएको अनुगमन टोलीले जनाएको छ ।       
 

अन्तिम अपडेट: चैत २७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया