सुत्केरी भैँसीलाई तीन हजार भत्ता !

 साउन २०, २०७५ आइतबार १७:२:११ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सुत्केरी महिलालाई भत्ता दिएको त हामी सबैले सुनेकै छौं ।

तर सुत्केरी भैँसीलाई पनि भत्ता दिइएको छ । रामेछापको सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता स्वरुप तीन हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराएको छ ।

किसानहरुले पाल्दै आएका भैँसीलाई सुत्केरी भएको अवस्थामा राम्रोसँग स्याहारसुसार र खानपिनमा ध्यान दिनुपर्ने सन्देश गाउँपालिकाका पशुपालक किसान र समग्र जिल्लाकै किसानहरुलाई प्रबाह गराउन जिल्लामै पहिलो पटक पशु आहार सुत्केरी भत्ता वितरण गरिएको हो ।

सुनापति गाउँपालिका भित्र रहेर पशुपालन गर्दै आएका ७ जना किसानलाई तीन हजारका दरले २१ हजार रुपैयाँ सुत्केरी भत्ता रकम उपलब्ध गराइएको सुनापति गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख प्रभु चौधरीले जानकारी दिनुभयो ।

गएको आर्थिक वर्षबाट सुरुवात गरेको अभियानमा गाउँपालिकाबाट सुत्केरी भत्ताको लागि निकालिएको सूचनाको आधारमा ७ जना किसानलाई वितरण गरिएको भैँसी सुत्केरी भत्ता कार्यक्रम आर्थिक वर्ष २०७५।०७६ मा पनि राखिएको चौधरीले बताउनुभयो ।

गाउँपालिकाले व्यवसायिक पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने र दूध उत्पादनमा वृद्धि गर्ने उद्धेश्यले आगामी वर्षहरुमा समेत यस कार्यक्रमलाई निरन्तरता दिई थप किसानहरुलाई अनुदानको रकम दिने व्यवस्था मिलाइने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिनुभयो ।

भुजेलले भन्नुभयो, ‘गाउँपालिका अधिकांश नागरिकहरुको मुख्य पेशा भनेकै खेती र पशुपालन भएकाले घरमा पालिएका पशुहरुलाई घाँस, पोषणयुक्त खानेकुरा नदिँदा पशुहरुमा विभिन्न रोगले सताउने, दूध उत्पादनमा कमी हुने र पशुहरु बिरामी भई मृत्यु समेत हुने गरेका कारण किसानहरुलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता प्रदान गरिएको हो ।’ 
 

अन्तिम अपडेट: चैत २९, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया