कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
लमजुङ–पछिल्लो समय गाउँघरबाटै कतुवा जनैको प्रचलन हराउँदै गएको छ ।
पुराना पुस्तासँगै नयाँ पुस्ताले चासो नदिएकाले कतुवा जनैको प्रचलन हराउँदै गएको हो ।
पाउँदीका चन्द्रप्रकाश पोख्रेलका अनुसार केही वर्षअघि जनैपूर्णिमा आउनु एक महिना अगाडि जनै कात्ने चटारो हुन्थ्यो । मुख्यतः ब्राह्मण क्षेत्री समुदायमा कतुवा जनै बनाउने हतारो हुन्थ्यो ।
तर अहिले त्यस्तो अवस्था छैन । पछिल्लो समय कतुवा जनैको प्रचलन हराउँदै गएकोमा पाको पुस्ता चिन्तित छ ।
मुख्यतः ब्राह्मण क्षेत्री समुदायका लागि जनैपूर्णिमा पर्वले खास महत्व राख्ने जानकारहरु बताउँछन् ।
‘केही वर्ष पहिले जनैपूर्णिमा आउनु एक महिना अघि नै क्षेत्री-बाहुनका घरघरमा जनै कात्ने चटारो हुन्थ्यो । अहिले त्यो परम्परा हराउँदै गइहाल्यो । बाहुन÷क्षेत्रीले नै कतुवा जनै बनाउन छाडे । जनै लगाउनै छाडे,’ पाेखरेलले गुनासो गर्नुभयो ।
उहाँले सँस्कृति जोगाउन आफलुे जनैपूर्णिमाका लागि आफुले वर्षेनी कतुवा जनै कात्दै आउनुभएको छ ।
‘जनैको धागो कात्ने कतुवा काठ, ढुंगावाट बनाउन सकिन्छ । ढुंगा अथवा काठको सानो चक्कालाई बिचमा छेडी त्यसमा बाँसको सानो सरो राखिन्छ । त्यसैमा काँचो धागोलाई तेब्बर कातिन्छ । अनि जनै बनिहाल्छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार कतुवाको सरो जति लामो भयो, उत्ति नै लामो धागो कात्न सकिन्छ । पछिल्ला पुस्ताका मान्छेलाई कतुवा भन्ने नौलो लाग्ने उहाँको भनाई छ ।
बाबु–बाजेबाट कतुवामा जनै कात्न सिकेको पोख्रेल भन्नुहुन्छ, ‘मौलिक परम्परालाई तोड्नु हुँदैन । मौलिक धर्म, संस्कृतिलाई जोगाउनु आवश्यक छ ।’
भोटेओडारका रुद्रहरि ढकालका अनुसार अहिले बजारमा सजिलै जनै किन्न पाइन्छ ।
तर त्यसको तुलनामा घरमै कतुवामा कातिएको जनै बलियो र शुद्ध हुन्छ । बजारमा पाइने जनैको तुलनामा घरमै बनाईएको कुतवा जनै अलि महँगो हुन्छ ।
‘बजारमा पाइने जनै दुई-तीन पोयोको पनि हुनसक्छ । तर कतुवा जनै ६ पोयोकै हुन्छ । यो बलियो र शुद्ध हुन्छ,’ उहाँले थप्नुभयो ।
पछिल्लो समय मान्छेहरुले परम्परा भुल्दै गएको र क्षेत्री ब्राह्मण समुदायका कतिपयले जनै नै लगाउन छाडेको स्थानीय टंकप्रसाद पोख्रेलले बताउनुभयो ।
उहाँले पनि विगत लामो समयदेखी कतुवा जनै बनाउँदै आउनुभएको छ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।