खोला तथा नदीबाट बालुवा उत्खनन् र निकासी रोकिएन

 साउन २०, २०७५ आइतबार १९:१५:५२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – जिल्लाभित्रका नदी तथा खोलामा बालुवा उत्खनन् र निकासी रोकिएको छैन ।

सरकारले नदी तथा खोलाजन्य निकासीमा रोक लगाए पनि जिल्लाका विभिन्न खोला तथा नदीबाट गिट्टी तथा बालुवा उत्खनन् र निकासी भइरहेको छ ।

स्थानीय सरकारको पुर्जी र रसिदकै आधारमा अघिल्लो आर्थिक वर्षमा ठेक्का लिएका र पटके काटेर निकासी गदै आएका व्यक्तिले चालु आर्थिक वर्षमा समेत निकासी गर्दै आएका छन् ।

जिल्लाभित्रको मोलुङ, ठोट्ने खोला र दुधकोसीबाट दैनिक निकासी भइरहेको छ । प्रहरीले बालुवा बोकेका सवारी नियन्त्रणमा लिए पनि स्थानीय सरकारका सिफारिस र रसिद भेटिएपछि छोड्ने गरेको छ ।

चौतर्फी गुनासो बढेपछि ट्याक्टर तथा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा स्थानीय तहबाटै पुर्जी दिइएको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बालुवा बोकेका सवारी नियन्त्रण लिँदा कागज भेटेपछि सम्झाएर पठाउने गरेको बताउनुभयो ।

‘स्थानीय सरकारले रोक्नुपर्ने हो, रसिद र पुर्जी दिएपछि कसरी नियन्त्रण हुन्छ रु’ उहाँले प्रश्न गर्नुभयो ।

प्रहरीले जिल्ला समन्वय समिति र गाउँपालिकाले दिएको रसिदको ठेली नै निकासीकर्ताबाट जफत गरेको पनि प्रनाउ शर्माले बताउनुभयो ।

प्रहरीले जिल्ला समन्वय समिति, चिसंखुगढी र मानेभञ्ज्यांग गाउँपालिकाले दिएको रसिद भेटिएको जनाएको छ । वर्षायाममा सरकारले प्राकृतिक प्रकोप लगायतका विपद् निम्तने भएकाले नदीजन्य वस्तु निकासीमा रोक लगाउने गर्छ । तर, ओखलढुंगामा रोक लगाइएको भनिए पनि उत्खनन् र निकासी भइरहेको छ ।

साउनमा समेत सरकारी निकायकै रसिदका आधारमा निकासी भएको पाइएपछि जनप्रतिनिधीको मिलेमतोको आशका गरिएको छ ।

स्थानीय सरकारका रसिदका आधारमा निकासी भएपछि प्रहरी समेत कडाइ गर्न हच्किएको छ ।

जिम्मेवार बन्नु पर्ने निकायबाटै रसिद दिएर निकासी भइरहेकाले प्रहरीले मात्रै केही गर्न नसक्ने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी निरञ्जन भट्टराईको भनाइ छ ।

चिसंखुगढीको भदौरे र दियाले, मानेभञ्ज्यांगको मोली, मोलुंगको कुन्तादेवी र च्यानम लगायतका क्षेत्रमा बालुवा उत्खनन् गरेर निकासी भएको पाइएको छ ।

स्थानीय सरकारका प्रमुखहरुले यसबारेमा अनभिज्ञता प्रकट गर्दै आएका छन् । चिसंखुगढीका प्रमुख प्रशासकीय अधिकृत सुवास निरौलाले निकासीबारे अध्ययन गरेर अघि बढ्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया